बारा । कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भोलि मंगलबार हुने भएको छ । भ्रमणलाई व्यबस्थित बनाउन सार्वजनिक विदाको सूचना प्रकाशन गरेको छ । विभिन्न संघ/संस्था, शैक्षिक संस्थालगायतलाई विदा दिएको हो । भ्रमणको क्रममा श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको प्रयास भने सफल नहुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार श्रम सम्झौताका कतिपय विषयमा थप छलफल गरी टुंगोमा पुग्नुपर्ने भएसँगै यसपालि श्रम सम्झौता पुनरावलोकन नहुने भएको हो ।
नेपाल कतारमा सबैभन्दा धेरै श्रमिक आपूर्ति गर्ने देशमध्ये एक हो । मंगलबार नेपाल भ्रमणमा आउने अमिरको भ्रमण सिलसिलामा श्रम मन्त्रालयसँग कुनै सम्झौता हुने सम्भावना कम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
‘हाम्रो चासो श्रम सम्झौता पुनरावलोकनमै हो,’ ती अधिकारीले भने, ‘तर, थप र बृहत् छलफल गर्नुपर्ने भएकाले यसपटक यो टुंगिने सम्भावना रहेन ।`
नेपालका तर्फबाट भने श्रम सम्झौता पुनरावलोकन छिटो टुंग्याउन पहल भइरहेको थियो । अघिल्लो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालले नेपालका लागि कतारका राजदूत मिसाल बि मोहम्मद अली अल अन्सारीसँगको भेटमा द्विपक्षीय श्रम सम्झौता पुनरावलोकनको विषय उठाएका थिए ।
कतार र नेपालबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । यसलाई समय सापेक्ष बनाउनुपर्ने भन्दै नेपालले प्रयास गरेको भए पनि सफल हुन सकेको छैन ।
‘राष्ट्र प्रमुखको ऐतिहासिक भ्रमणमा सम्झौता पुनरावलोकन गर्न पाएको भए राम्रो हुने थियो,’ ती अधिकारीले भने, ‘तर, यो भ्रमणमा पुनरावलोकन हुने सम्भावना कम भयो ।’
कतारी राजा आउँदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द
नेपालको सबैभन्दा ठूलो श्रम गन्तव्यमध्ये एक भएका कारण श्रमिकको हित हेरेर सरकारले चासो राख्दै कुराकानी भने हुने बताइएको छ ।
कतारमा अहिले ५ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन् । यस वर्षमात्र नौ महिनामा करिब १ लाख २ हजारभन्दा धेरै नेपालीले कतारका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
कतारमा ठूलो संख्यामा नेपाली नागरिक रहेको र उनीहरूको दक्षता अभिवृद्धि गर्नुपर्ने भन्दै नेपालले तालिम केन्द्र स्थापनाको प्रस्ताव कतारसँग गरिरहेको छ ।
यसबारे अघिल्लो साता श्रममन्त्री र कतारी राजदूतबीचको भेटमा समेत कुरा उठेको थियो । जसमा राजदूतले कतार सरकार सकारात्मक रहेको बताएका थिए । कतारसँग श्रम सम्झौतामा नेपालले श्रमिकको सामाजिक सुरक्षा, बीमा, पेसागत सुरक्षाका विषयलाई समेट्न खोजेको छ । नेपालले कतार विश्वकप अगाडि नै श्रम सम्झौता पुनरावलोकनका तयारी गरे पनि सफल भइरहेको छैन ।
कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैं विमानस्थल जाने
श्रम सम्झौता पुनरावलोकन नहुँदा कतार गएर चरम समस्या बेहोर्दा समेत त्यसको जिम्मेवार कतार सरकारलाई बनाउन सकिएको छैन ।
अर्कातर्फ, कतारको चासो नेपालबाट घरेलु श्रमिक आपूर्तिबारे छ । नेपाल सरकारले भने कतारमा घरेलु श्रमिक लैजान रोक लगाएको छ । कतार सरकारले यो प्रतिबन्ध खुला हुनुपर्ने बताइरहेको छ ।
नेपालको इतिहासमा पहिलो पटक कतारका राजा (अमिर) मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका उनको भ्रमण सिलसिलामा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
Discussion about this post