टेकराज भण्डारी/बारा । निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विद्यालयमा पङ्खा हस्तान्तरण गरेको छ । संस्थाको आफ्नो १७ औं स्थापना दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई ८ थान सिलिङ पङ्खा हस्तान्तरण गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पङ्खा वितरण गरिएको थियो । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य समेत रहेका संस्थाकी अध्यक्ष शोभा राउतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर लामा रहेका थिए ।
प्रमुख अतिथि लामाले विद्यालय जस्तो पवित्र संस्थामा पङ्खा वितरण गरेर सहकारीले राम्रो काम गरेको बताए । सबैले हातेमालो गरेर अघि बढेमा गाउँ समाजको विकास हुने भन्दै वडा अध्यक्ष लामाले यसअघि वडा तथा नगरपालिकाले समेत अनुगमन गरेर पङ्खा आवश्यक रहेको निष्कर्श निकालेको अवस्थामा सहकारीले सहयोगको हात अघि बढाएर वडाको दायित्वमा सहजीकरण गरेको उल्लेख गरे । कार्यक्रममा संस्थाका अध्यक्ष राउतले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको बताउँदै यो पटक विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी थिइन । संस्थाले विगतका बर्षहरुमा अग्नि पीडित, मानव सेवा आश्रमका व्यक्तिहरु, मृगौला पीडित लगायत समस्यामा परेकालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको अध्यक्ष राउतको भनाई छ । संस्थाका कोषाध्यक्ष तथा विद्यालयका शिक्षिका किरण श्रेष्ठले पङ्खा सहयोग गर्नुपर्ने सुझाव दिएको अध्यक्ष राउतले बताईन ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि प्रसाद चौलागाईँले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले विद्यालयमा अत्यावश्यक रहेको पङ्खा सहयोग गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए । आफ्नो विद्यालययको आवश्यक्तालाई बुझेर गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै प्राध्यापक स्वर्णकारले आफुहरु विद्यालयलाई सुधार गर्दै गईरहेको र सबैले साथ दिएमा अझैँ अब्बल शैक्षिक संस्था बनाउने विचार व्यक्त गरे । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य आशा लामा, वडा नम्बर ७ का वडा सदस्य भगवती घिमिरे, पूर्व कार्यपालिका सदस्य जगत कुमारी अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष शंकर रुम्बा, व्यवस्थापन समिति सदस्य बिरेन्द्र महतो, सहकारी संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो । सहकारी संस्थाका सदस्य भवानी अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन भने संस्थाका सचिव ललिता सापकोटाले गरेकी थिइन ।





















Discussion about this post