बारा । यातायात व्यवस्था कार्यालय बाराले कलैयाबाट सवारी अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । कार्यालय स्थापना भएको ३ महिनापछि लाइसेन्स वितरणको तयारी शुरु भएको हो । मधेस प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिएको छ । यसअघि सवारी दर्ता, लाइसेन्स नवीकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख हुसेनले बताए । हुसेनका अनुसार अव मोटरसाइकल, स्कुटरदेखि जीप, कार, अटोरिक्सा ट्याक्टर जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको बताएको छ । सवारी साधनको लाइसेन्सकालागि फाराम खुल्ला भइसकेको पनि हुसेनले जानकारी दिए । अव सबै प्रक्रिया पुरा गरेर लाइसेन्स वितरणको कार्य सुरु गरिने उनको भनाई छ । लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको छ । यसको लागि कार्यालय नजिकै रहेको कलैया ३ गंगापुरस्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको र नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो ट्रायल सेन्टर सञ्चालनमा आएको कार्यालय प्रमुख हुसेनले जनाएको छ । कार्यालयबाट सुरुमा हलुका सवारीको लाइसेन्स वितरण गर्ने र त्यसपछि बिस्तारै सबैखाले सवारी साधनको लाइसेन्स वितरण गर्ने योजना रहेको बताइएको छ ।
यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको थियो । कलैयामा २०८० मङ्सिर २५ गते यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।






















Discussion about this post