मन अघाउँदैन लट्टेश्वर महादेव चुचुरोमा

434
SHARES
571
VIEWS

चुरे डाँँडाको ठुल्ठुला पहाडका चुचुरोलाई कोल्टे पार्दै क्षतिजबाट उज्यालिएको मौसमले दशै तिहारलगतै चिसो तथा जाँडो मौसमको सङ्केत गर्दैछ । पसिनाले निथ्रुक्क भिजेको मेरो शरिर विश्रामको गन्तव्य पहिल्याउने धपेडीमा लट्टेश्वर महादवे डाँडा थुम्काको घनघस्या नाप्दै थियो । म विगतमा हराउदै अगाडि बढदै छु । थुम्काको टुप्पोबाट मकवानपुरका रमाईला डाँडाकाँडा कुनाकन्द्र र तराईका समथार फाँटका शहरहरु देखिएका छन् ।

र, म त्यही शहरहरु मध्य प्रस्तावित तथा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल निजगढलाई पहिल्याउँदै छु । उबेला बालापनमा दशैंको र जाँडो मौसमको सङ्केतसंगै नयाँलुगा किन्मले गर्न त्यही निजगढ शहर तथा बजार धाउनु पर्थ्यो । उमेर परिपक्क भएसँगै दशैं तिहार र जीवनको शैलीमा पनि फेरबदल आएको छ । अब हामी कतै घुम्न जाने लालसमा आफुलाई तयारी गर्छौं ।

बारा र मकवानपुरको सिमानामा पर्ने पानीसराको लट्टेश्वर महादेव डाडाँ मेरो दशैं गन्तव्यमा परेको थियो । सोही क्षेत्रका शक्तीश्वर गुफा मन्दिर, शक्ति झरना, पहिला–पहिला त्यस स्थानमा ताल पनि थिए देवीघाट ताल भन्थे सोही “ताल पोखरी” , पानीसराको आसपासमा रहेका माहाभरत शखृंलाको तल्लोभाग चुरेडाँडाको थुम्का–थुम्का डाँडाहरु मध्यबाटै रोज्ने गर्छु लट्टेश्वर महादेव डाँडालाई । र, मैले यसपटक लट्टेश्वर महादेव डाँडा रोजेको छु । पछिल्लो एक बर्षमा यो दोश्रो भ्रमण हो मेरो, लट्टेश्वर महादेव डाँडाको ।

२०८० कार्तिक ९ गते दशै टिकाको दिन विहान मामा घर जाने बहानामा पानीसरा क्षेत्रको सबैभन्दा रमाइलो स्थान र अग्लो चुचुरो डाँडा लट्टेश्वर महादेव डाँडाको थुम्कामा पाईला टेक्दा मनमा एक प्रकारको उत्साह र उर्जा प्राप्त भएको थियो । विहानै पुगे हामी त्यहाँ । फुसफुसाउदो शितका लहरहरुसँग बादलुको चपेचापबाट चिहाउदै गरेको सुर्योदयले थुम्कहरुको दुबोमा सप्तरङ्गी किरण हुत्याईरहेको थियो । हरियो दुबो र झारहरुमा सप्तरङ्गी किरणसँगै टल्कीरहेको पानी तथा शितका थोपाहरुले हाम्रो पदचालप चलमलाई रहेका थिए । आहा…..!! कति अलौकिक दृश्य !! म बेस्सरी चिच्याए– “हामी नेपालीको गौरव, हाम्रो नेपाल, हाम्रो पानीसरा !” उकालीहरु उक्लदैगरेको त्यसगाऊँका पाहुना मलाई हेरेर मुस्कुराउन थाले ।

म लाजले रातोपिरो भएँ । तर मनको अन्तर कुन्तरबाट स्वर्गको प्रकृति विचरणको स्फुर्ति प्रवाहित भइरहेको थियो । त्यसो त दशैको समय र दशै टिका लगाउनका निम्ती माईतीघर आउने छोरी चेलीहरु पनि निक्कै फुर्तिलाका साथ उकालो उक्लिदै थिइन । सबै जसो ४० नाघेको अधवैशे तर फुर्ती हेर्दा भर्खर २०/२५ का नौ जवान जस्ता एक जना अधवैशे महिलालाई मैले ठट्टा गर्दै भने “तपाई जोशिलो युवती जस्तै उकालो चढ्दै हुनु हुन्छ त ।” उनले जवाफ फर्काइन्, “मेरो शरीर र स्वास्थ्यले त्यसो भन्दैन, म बुढ्यौलीतिर लम्कदै छु । तर यो चाहीँ सत्य हो कि तिमीले भने जस्तो मेरो मस्तिष्क चाहीँ भर्खर २०/२५ को नौ जवान जस्तै बनेको छ, आफ्नो माईतीघर आउन पाउदा र लट्टेश्वर महादेव डाँडाको सुन्दरतामा हराउँदा ।

त्यस माथी लट्टेश्वर महादेवको दर्शन गर्न पाउँदा, । वरपरका ठाँउमा पहाडका एक सय एक डाँडाका चुचुरा । शरद ऋतु संगै बदलिने मौसम सँगै ठुल्ठुला पहाडका श्रंखलाहरु सँग बादल र घामले लुकामारी खेल्दै त्यहाँको वरिपरिका वातावरणसंगं खुशी साटने बहाना भइदिन्छ । विभिन्न आकार जोड्दै र छोडदै अघि बढने बादलका टुक्राहरु छिन/छिनमा थुम्कालाई फेरो मार्दै विश्राम लिए झै गर्छन त छिन/छिनमा आकाश माथि/माथि कता हो कता हराइदिन्छ । हरेक बर्षको माघ महिनाको पहिलो दिन मेला लाग्ने महादेव (शिवजी) लट्टेश्वर महादवेको प्रतिमूर्तिमा शीर निहुराएर मागेका बर खेर जादैन भन्छन स्थानीयहरु । महादेव मन्दिर संगै रहेको धर्मढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् । लट्टेश्वर महादेव डाँडासंग सम्बन्धित केही किम्वदन्तिहरु पनि स्थानीयले बताएका थिए । महायान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङमायाको किम्बदन्ति सुनाए स्थानीय जेष्ठ जनहरुले । गुरु पद्मसम्भवले त्यस क्षेत्रको उच्च तथा पहाडी श्रखृंलाका साथै मकवानपुरका बोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए रे । त्यहाँ मैले बुद्धको तस्वीर पनि देखे । त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि । एकातिर एक बर्षमा लाग्ने मेला, महादेव मन्दिर र धर्मढोकाको हिन्दु महिमा र अर्को तर्फ पदम सम्भवसंग जोडिएको बौद्ध मान्यता । हिन्दु र बौद्ध धर्मको संगम थलो लट्टेश्वर महादेव । सो डाँडाको प्रत्येक थुम्काहरुमा सत्य युगिन समयमा ऋषीहरुको तपस्या भूमि रहेको किम्बदन्ति रहेको समेत सुनाए स्थानीय जेष्ठजनले । र, एक थरीले महादेव डाँडा “ल थान“ का हरेक थुम्कामा फलाम, तामालगायतका खानी रहेको विश्वास पनि गर्दछन् ।

बाराको निजगढ पर्यटकिय क्षेत्र शक्तीश्वर गुफाबाट जब लट्टेश्वर महादेवको थुम्का टेक्न थाल्छौ मनकोभाव त्यसै त्यसै शितल पवनका कोमल झट्टी बनेर कता/कता प्रहार गरिरहेको हुन्छ । मन चिमोटिन्छ, दुखाई पीडादायी हैन आत्मिय लाग्दछ । यहि त विशेषता छ लट्टेश्वर महादेव डाँडाकोे बोगाडे डाँडा, चिप्लेटी डाँडा गडवान डाँडा, उपचौर डाँडा र पहाड श्रृंखलाको आडमा बारा र मकवानपुरका विभिन्न भु–भागहरु मज्जाले नियाली रहँदा क्षणमै बादलुले अलप बनाउँछ घरहरुलाई । फेरी कता–कताबाट तीनै घरहरुको छत र बार्दली टल्कन थाल्छन् सुर्योदयको स्फष्टीक तरङ्गहरुमा । लट्टेश्वरको सुन्दरतामा निखार ल्याउन बारा र मकवानपुरका धेरै अगुवाहरुले प्रयास गरेका छन् । शक्ती निवासी स्थानीय समाजसेवी नेपाली कांग्रेसका नेता तथा नागरिक अगुवाई केदार सिं वाईबा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का पूर्व तथा वर्तमान वडा अध्यक्ष रामकृष्णा कोईराला, युवा समाजिक सरोकारका युवा प्रकश बल लट्टेश्वर महादेव निर्माण समिति र लट्टेश्वर महादेव संघर्ष समितिलगायत धेरैले सार्थक प्रयास गरेका छन् । विगतमा लट्टेश्वर भम्रणको बाटोको समस्या हुने गर्दथ्यो ।

अहिले शक्तीखोला र बाराको डम्बरपुरको बजारबाट सडक मार्ग निर्माण जोडेको छ । त्यस्तै पयर्टकीय स्थल डम्बरपुरमा प्रर्‍याप्त होटल सञ्चालनमा पनि छन् । हिउँद महिनामा बास बस्न सहजताकालागी निजगढ नगरपालिका वडा नम्बर १३ का जनाप्रतिनिधी वडा सदस्य तथा समाजसेवी दिपक न्यौपानेले सुरु गरेको रिसार्टे हाई डम्बरपुरमा बास बस्न सकिने व्यवस्था रहेको छ । दिपक न्यौपानेसंग भेट भएको बेला उनले भन्दै थिए, “हिउदको सिजनमा यस क्षेत्रमा बास बस्न कठिनाई हुनसक्छ र पर्यटकलाई यस क्षेत्रको अन्य ठाउँहरु घुम्ने चाहना पनि हुन सक्छ त्यसैले मैले सुविधा सम्पन्न रिसोर्ट हाई डम्बरपुर सचांलन सुरु गरेको छु ।” न्यौपानेले भने । उक्त क्षेत्रको भ्रमणमा एउटा सामान्य समस्या चाहि अहिले पनि देखिएको छ । बर्षायाममा सडकको झमेला । हुन त शक्तीश्वर महादेव मन्दिर गुफा र झरना सम्म सडक निर्माण भैई सकेको छ । सो मार्गमा कालोपात्रे समेत भैइसकेको छ । सोहि सडकले गर्दा पर्यटक आगमन सहज गर्छ तर यो कामलाई तीनै तहको सरकारको विशेष पहलमा चाँडै सम्पन्न गर्नु पर्याे र लट्टेश्वर महादेव डाँडा सम्म सडक निर्माणमा जोडदिनु पर्‍यो ।

पर्यटनको मुख्य केन्द्र र ऐतिहासिक गुफा परम्परागत पानी घाट्टा पानीसरामा भने काउली, लहरी, कोदो, विभिन्न जातका तरकारीको उर्वर क्षेत्रमा सडकको झमेला उचित लाग्दैन । बाराकोडम्बरपुर , रतनपुरको हनुमान चोक र बेशिगाऊको फन पार्कबाट पानीसरा लट्टेश्वर डाँडा जोडने सडक पक्की बन्ने हो भने हरेक सिजनमा यस क्षेत्रमा पुग्ने पर्यटकको भीड लाग्ने छन । पानीसरा लट्टेश्वर महादेव डाँडाको थुम्का उक्लने ठाउँमा हेटौडा उपमहानगरपालिका र निजगढ नगरपालिकाका वडाहरुको सहयोगमा मिनि सडक बन्दै छ । यसले पनि लट्टेश्वर महादेव डाँडा घुम्न आउने पयर्टकलाई कयौं पटक रमाउन सहज बनाउने छ । र, त्योभन्दा महत्वपुर्ण कुरा त्यस क्षेत्रमा रहेको सयौंवटा थुम्काहरुमा विचरण गर्दै प्रकृतिलाई नियाल्ने सुखद अवसर लट्टेश्वर महादेव डाँडाले मात्र जुराउने छ । लेखक उमेश घलान पत्रकार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित