उमेश घलान/बारा । दुग्ध उत्पादक सहकारी संघले दुधको रकम अविलम्ब भुक्तानीको माग गर्दै पूर्व पश्चिम राजमार्गको निजगढ सहिद चोकमा २ घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।

गत आइतबार दुग्ध उत्पादक सहकारी संघले निजगढ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गरेका थिए । बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडमा जिल्लाका चारवटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान आबद्ध छन् ।
संघमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरूले यस क्षेत्रका किसानको विगत तीन महिनादेखिको करिब १८ करोड रुपैयाँ बक्यौता नदिएको भन्दै सहकारी संघ अन्दोलित भएको छ । दुग्ध उत्पादक किसानहरुले बारा निजगढको मुख्य सडक खण्ड सहिद चोकमा बिहान १० बजे देखि १२ बजेसम्म दुई घण्टा चक्काजाम गरे ।

बारा जिल्लामा दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुध संकलन तथा करिब ५० लाख रुपैयाँ गाउँ भित्र्याउँदै ग्रामीण अर्थतन्त्रमा मजबुत बनाउन क्रियाशील रहेको छ । विभिन्न बहानामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना खेप्नु परिरहेका छन् । जसले गर्दा बारा जिल्लाको दैनिक १२ हजार लिटर दुग्ध बिक्री भइरहेको छैन ।
दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि बाध्य भएर किसानहरु आन्दोलनमा उत्रिएका हुन ।
किसानले निजी डेरी उद्योगहरुले जिल्लाभित्रका सहकारीमार्फत विगत तीन महिनादेखि बाँकी रहेको १८ करोडभन्दा बढी रकम अविलम्ब भुक्तानी गराउनुपर्ने, किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनुपर्ने, अनियमित रूपमा आयातित दुध एवं दुग्धजन्य पदार्थलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने संघको माग रहेको छ ।

यसैगरी संघले दुग्ध किसानलाई कृषि कर्जामा अनुदान कार्यक्रम यथाशीघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउन अभियान सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधिमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गर्नुपर्ने, दुधमा प्रतिलिटर रु. ५ अनुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थमा अनुदानको व्यवस्था गर्नुपर्ने, दुध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि खोरेतलगायतका रोगमुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग समेत राखेको छ ।
सो विरोध कार्यक्रमलाई नेकपा एमाले, राप्रपा लगायतले साथ र समर्थनको ऐक्यबद्धता जनाएका थिए । भने बाराका विभिन्न स्थानका संचालित ४ वटा दुग्ध सहकारी संस्थाहरुको उपस्थिती रहेका थिए । आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सचीव थानेश्वर सापकोटा (अविरल) ले पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन नै समस्या भएपछि आन्दोलन गर्न बाध्यता भएको बताए ।
कार्यक्रममा तिलक घलान, दुग्ध उत्पादक सहकारी संघका बारा जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईलगायतले सन्बोधन गरेका थिए ।






















Discussion about this post