सगरमाथा साकोसको २६औ साधारया सभा सम्पन्न, बाढीपीडित बालबालिकालाई शैक्षिक सामग्रीदेखि एसईईका उत्कृष्ट विद्यार्थी सम्मानित

385
SHARES
507
VIEWS

निजगढ । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, निजगढ–७ ले भोटेकोशी बाढीमा परी बेपत्ता भएका निजगढ नगरपालिका–९ का राज विष्ट र दिनेश परियारका छोराहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

सहकारीको बिहीबार सम्पन्न २६औँ वार्षिक साधारणसभाका अवसरमा विष्टका छोरा कृष्टि र परियारका छोरा रोमनलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो। बाढीबाट प्रभावित बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

साधारणसभामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा निजगढ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको छ। गौरीशंकर माध्यमिक विद्यालय, निजगढ–८ की प्राश्ना लामा र विद्यासागर इङ्लिस बोर्डिङ स्कुल, निजगढ–७ का रञ्जित थापालाई जनही पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी, सहकारीले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। उत्कृष्ट कारोबारी सदस्य प्रल्हादप्रसाद रिमाल र उत्कृष्ट सेयर कारोबार सदस्य टपकुमारी कार्कीलाई जनही दुई हजार पाँच सय रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। उत्कृष्ट ऋण कारोबार सदस्य चण्डिकादेवी कसाही र उत्कृष्ट बचत कारोबार सदस्य सन्तोषीकुमारी भण्डारीलाई पनि जनही दुई हजार पाँच सय रुपैयाँसहित सम्मान गरिएको हो ।

उत्कृष्ट बाल बचत सदस्य सुर्बी अधिकारीलाई दुई हजार रुपैयाँ बराबरका स्टेशनरी सामग्री प्रदान गरिएको थियो। त्यस्तै, गौरीशंकर क्याम्पस, निजगढ–९ मा अध्ययनरत संस्थाका सेयर सदस्य माधवप्रसाद दाहालका छोरा कैलाश दाहाललाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत निजगढ–५ स्थित जनजागृति आधारभूत विद्यालयका विद्यार्थीका लागि ४० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा पनि गरेको छ। विद्यालयका छात्रछात्राको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराउन लागिएको संस्थाले जनाएको छ ।

साधारणसभामा संस्थाका निवर्तमान सञ्चालक समितिका पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। सभाले अध्यक्ष रुद्रप्रसाद धितालको वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक राजु गौतमको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष सुदीप तिमल्सिनाको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाका अध्यक्ष धितालको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष भोलाप्रसाद गौतम प्रमुख अतिथि थिए। कार्यक्रममा निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायतले सहकारीको महत्त्व, आवश्यकता तथा समुदायको आर्थिक र सामाजिक विकासमा यसले खेल्न सक्ने भूमिकाबारे धारणा राखेका थिए ।

संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव भुषण अधिकारीले गरेका थिए ।

साधारणसभाका अवसरमा विद्यार्थीलाई प्रोत्साहन, विपद्बाट प्रभावित बालबालिकालाई सहयोग र विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गर्दै सहकारीले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित