निजगढ कांग्रेसमा युवा नेतृत्वको बहस : देउवा समूहबाट मैनालीको नाम चर्चामा

403
SHARES
530
VIEWS

निजगढ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा निजगढ नगरमा पार्टी नेतृत्वका लागि आकांक्षीहरूको चर्चा तीव्र बनेको छ । यही क्रममा सभापति शेरबहादुर देउवा समूहबाट युवा नेता खड्गराज मैनालीको नाम निजगढ नगर सभापतिका लागि चर्चामा आएको छ ।

कांग्रेसनिकट स्रोतका अनुसार मैनालीलाई नगर सभापतिका रूपमा अघि सार्ने विषयमा देउवा समूहभित्र पटक–पटक छलफल भइरहेको छ । संगठनलाई थप चलायमान बनाउने, युवाको सहभागिता बढाउने र बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई नयाँ ऊर्जा दिने उद्देश्यले मैनालीको नाम अघि सारिएको स्रोतको दाबी छ ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय मैनाली युथ अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी तथा गौरीशंकर फाउण्डेशनलगायत संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । विशेषगरी युवा परिचालन, सामाजिक सेवा तथा रक्तदान अभियानका प्रमुख अभियन्ताका रूपमा समेत उनको सक्रियता रहँदै आएको छ ।

सामाजिक अभियानबाट निर्माण भएको उनको परिचयलाई पार्टी संगठनमा उपयोग गर्न सकिने कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ । समर्थकहरूले भने मैनालीको सम्भावित उम्मेदवारीलाई निजगढ कांग्रेसमा युवा पुस्ताले नेतृत्वमा हस्तक्षेप खोजेको संकेतका रूपमा लिएका छन् ।

प्रदीप गिरीको विचारबाट प्रभावित

मैनालीको राजनीतिक रुचि र वैचारिक यात्राको अर्को महत्वपूर्ण पक्ष नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीसँग जोडिन्छ । गिरीलाई आफ्नो राजनीतिक आदर्श तथा अनुयायीका रूपमा मान्दै आएका मैनाली उनीबाट प्रतिपादित लोकतान्त्रिक समाजवाद, अध्ययनशील राजनीति र वैचारिक बहसको संस्कारबाट प्रभावित युवा नेताका रूपमा चिनिन्छन् ।

पद र शक्ति केन्द्रित राजनीतिभन्दा विचार, अध्ययन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने गिरीको राजनीतिक शैलीले मैनालीलाई प्रभावित गरेको उनका निकटस्थहरू बताउँछन् । यही कारण पनि मैनालीको सम्भावित नेतृत्वलाई केही युवाले परम्परागत राजनीतिक समीकरणभन्दा फरक अभ्यासका रूपमा हेरेका छन् ।

‘पद मागेको छैन, अवस्था आयो भने जिम्मेवारी लिन तयार छु’

यद्यपि, मैनाली स्वयंले भने नगर सभापतिको पदका लागि आफूले दाबी नगरेको स्पष्ट पारेका छन् । निजगढ मधेश प्रवाहसँग कुरा गर्दै उनले आफूलाई नगर सभापतिका लागि प्रस्ताव आएको स्वीकार गरे । उनका अनुसार असोज २० गतेसम्म नेतृत्व चयनको विषयमा छलफल हुने भएकाले आफू अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

“मलाई नगर सभापति बन्न प्रस्ताव आएको छ । असोज २० गतेसम्म समय छ । यस विषयमा छलफल र बैठक भइरहेका छन् । म अहिले “पर्ख र हेरको अवस्थामा छु,” मैनालीले भने । उनले भने आफूले अहिलेसम्म पार्टीमा कुनै पदको लोभ नगरेको र पद माग्दै नहिँडेको समेत बताए । “हालसम्म मैले पार्टीमा कुनै पदको लोभ गरेको छैन र माग पनि गरेको छैन । तर कांग्रेसको विषम परिस्थितिमा मैले नेतृत्व लिनुपर्ने अवस्था आयो भने म तयार छु,” उनले भने । मैनालीको यो अभिव्यक्तिले उनी नगर नेतृत्वका लागि सम्भावित उम्मेदवारका रूपमा भने तयार रहेको संकेत गरेको छ ।

युवा नेतृत्व कि पुरानै समीकरण?

निजगढ कांग्रेसमा लामो समयदेखि स्थापित राजनीतिक पुस्तासँगै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा बहस चल्दै आएको छ । यस्तो अवस्थामा सामाजिक क्षेत्रमा सक्रिय र वैचारिक राजनीतिमा रुचि राख्ने मैनालीको नाम देउवा समूहबाट चर्चामा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  यदि मैनालीलाई औपचारिक रूपमा देउवा समूहले नगर सभापतिको उम्मेदवारका रूपमा अघि सारेमा निजगढ कांग्रेसको नगर नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।

यसले एउटा प्रश्न पनि जन्माएको छ निजगढ कांग्रेसले यसपटक अनुभवलाई निरन्तरता दिने कि सामाजिक अभियानमा सक्रिय नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिने? यसको जवाफ भने नगर अधिवेशनले दिनेछ । देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि वडा अधिवेशनमार्फत तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाएको छ । असोज २० गते नगर अधिवेशन गर्ने कार्यतालिकाअनुसार नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । नगर तहको नेतृत्व चयनपछि प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको प्रक्रिया अगाडि बढ्नेछ । कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी गरिरहेका बेला स्थानीय तहमा हुने नेतृत्व चयनले पार्टीको आगामी राजनीतिक दिशा र शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिन्छ ।

निजगढमा मैनालीको नाम चर्चामा आउनुले भने एउटा कुरा स्पष्ट गरेको छ कांग्रेसभित्र अब नेतृत्वका लागि युवाको दाबी केवल नारामा सीमित छैन, संगठनको नेतृत्वमै पुग्ने गरी अगाडि बढ्न थालेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित