बसन्त लामा/सिंगौल । निजगढ नगरपालिका–३ स्थित टाँसीधार्गेलिङ बौद्ध गुम्बामा पहिलोपटक बज्र किलाया तथा ग्रहदशा विश्वशान्ति पूजा आयोजना हुने भएको छ । गुम्बा स्थापना भएको ४२ वर्षपछि गुम्बाकै आयोजनामा तीनदिने विश्वशान्ति पूजा गर्न लागिएको हो ।
आयोजकका अनुसार आगामी असोज २० देखि २२ गतेसम्म गुम्बा परिसरमा पूजा सञ्चालन हुनेछ। पूजाका क्रममा प्रमुख गुरु लामा छ्युलठीम दोर्जे लामाले धार्मिक विधिअनुसार बज्र किलाया तथा ग्रहदशा शान्तिका लागि पूजा गराउनुका साथै बुद्ध धर्मसम्बन्धी प्रवचन दिने कार्यक्रम छ ।
पूजाबाट संकलन हुने रकम गुम्बाको निर्माणाधीन संरचनाको बाँकी काम सम्पन्न गर्न उपयोग गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। नयाँ निर्माण गरिएको टाँसीधार्गेलिङ बौद्ध गुम्बाको आवश्यक निर्माण तथा व्यवस्थापनका काम पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूजा सञ्चालनका लागि टाँसीधार्गेलिङ बौद्ध गुम्बा व्यवस्थापन समितिको मूल समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) को अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय बज्र किलाया तथा ग्रहदशा विश्वशान्ति पूजा समिति सर्वसम्मत चयन गरेको छ । समितिको अध्यक्षमा वृषबहादुर जिम्बा, उपाध्यक्षमा सनिता योन्जन, सचिवमा वीरबहादुर जिम्बा र कोषाध्यक्षमा कर्म मोक्तान चयन भएका छन् ।
सदस्यहरूमा हिमाली घलान, बधना लामा, धनबहादुर लो, जीवन योन्जन, माया गोङ्बा, तीर्थमाया मोक्तान, रसिला मोक्तान, कान्छालाल जिम्बा र चन्द्रबहादुर स्याङतान छन् । पूजा समितिका अध्यक्ष वृषबहादुर जिम्बाका अनुसार पूजाको तयारीस्वरूप सोमबारदेखि नै गुम्बा परिसरमा सरसफाइ सुरु गरिनेछ। तीन दिनसम्म सञ्चालन हुने पूजामा स्थानीय बौद्ध धर्मावलम्बीसहित श्रद्धालुहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
गुम्बा स्थापना भएको लामो समयपछि पहिलोपटक आयोजना हुन लागेको विश्वशान्ति पूजालाई धार्मिक कार्यक्रमसँगै गुम्बाको निर्माण तथा संरक्षणमा समुदायको सहभागिता जुटाउने अवसरका रूपमा समेत लिइएको आयोजकले जनाएको छ ।





















Discussion about this post