निजगढ । बाराको निजगढ नगरपालिका–२ का वडावासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । लामो समयदेखि जग्गासम्बन्धी समस्या भोग्दै आएका स्थानीयले निस्सा पाएपछि खुसी व्यक्त गरेका छन् ।
निजगढ नगरपालिकाका अन्य वडामा केही वर्षअघि नै निस्सा वितरणको प्रक्रिया अघि बढे पनि वडा नम्बर २ मा भने विभिन्न कारणले प्रक्रिया प्रभावित हुँदै आएको थियो । वडा कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी निस्सा वितरण सुरु गरेपछि स्थानीयमा आशा जागेको छ ।
वडा अध्यक्ष राजन श्रेष्ठका अनुसार वडा नम्बर २ मा कुल ४ सय ४४ घरपरिवारलाई निस्सा वितरण गर्ने योजना छ । तीमध्ये २ सय ८० परिवार अव्यवस्थित बसोबासी, १ सय ४८ परिवार भूमिहीन सुकुम्बासी र १६ परिवार दलित भूमिहीन सुकुम्बासी रहेको उनले बताए ।
‘लामो समयदेखि जग्गासम्बन्धी समस्या झेल्दै आएका नागरिकलाई निस्सा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘सम्बन्धित प्रक्रिया पूरा गरेर सबै योग्य परिवारलाई निस्सा उपलब्ध गराउने लक्ष्य छ ।’
निस्सा वितरण सुरु भएपछि स्थानीयले वडा कार्यालयको पहलको प्रशंसा गरेका छन् । वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका परिवारका लागि निस्सा वितरणले आफ्नो बसोबास सुरक्षित हुने आशा बढाएको स्थानीयको भनाइ छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाएको भन्दै कतिपय स्थानीयले अध्यक्ष श्रेष्ठको पहललाई ‘नयाँ सरकारको कदम’का रूपमा समेत व्याख्या गरेका छन् । यद्यपि निस्सा वितरणपछि जग्गाको स्वामित्व कायम हुने प्रक्रिया भने सम्बन्धित कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार अघि बढ्नेछ ।
अध्यक्ष श्रेष्ठ २०७९ को स्थानीय तह निर्वाचनमा लोकप्रिय मत प्राप्त गरी वडा नम्बर २ को अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि वडाका विभिन्न विकास तथा जनसरोकारका विषयमा काम गर्दै आएको वडा कार्यालयले जनाएको छ ।
निस्सा वितरणले भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई आफ्नो बसोबासको प्रमाणका रूपमा महत्वपूर्ण आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । वडा कार्यालयले बाँकी परिवारलाई पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः निस्सा वितरण गर्दै जाने जनाएको छ ।





















Discussion about this post