बारा । रसुवाको भोटेकोशी क्षेत्रमा लेदोसहितको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले विपद् प्रभावित नागरिकलाई सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त रकममा नगरपालिकाका कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा नगरको विपद् व्यवस्थापन कोषबाट योगदान रहने जनाइएको छ । विपद्को समयमा राज्यका विभिन्न तहका सरकार तथा नागरिकबाट सहयोग र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको राहतमा आफ्नो तर्फबाट समेत योगदान गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
सो क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुऱ्याएपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारको आवश्यकता बढेको छ । उपमहानगरको यो निर्णयले विपद्का बेला स्थानीय तहहरूबीचको सहकार्य र मानवीय संवेदनालाई थप बलियो बन्ने देखिन्छ । संकटको अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।





















Discussion about this post