निजगढ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि निजगढ–९ स्थित होली एन्जल्स बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ ।
विद्यालयका सञ्चालक तथा प्रिन्सिपल नारायणप्रसाद उप्रेतीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
विपद्को कठिन समयमा पीडितको राहतका लागि आफ्नो तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उप्रेतीले बताए । उनका अनुसार विपद्का बेला गरिने सहयोगले प्रभावित परिवारलाई राहत दिनुका साथै मानवीय सेवाको भावना पनि बलियो बनाउँछ ।
‘सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ’ भन्ने भावनाका साथ गरिएको उक्त सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ ।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक क्षेत्रबाट पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ ।





















Discussion about this post