तिलेश्वरनाथ सामुदायिक वनको साधारण सभा, १ करोड ८७ लाखका योजना

394
SHARES
519
VIEWS

रौतहट/नसन्त लामा । चन्द्रपुर नगरपालिका–३ गैँडाटारस्थित तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभाले आगामी आर्थिक वर्षका लागि करिब १ करोड ८७ लाख रुपैयाँ बराबरका विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ ।
कछडिया टोलस्थित वनको सभाहलमा आयोजित सभामा समूहका अध्यक्ष राजु धामीले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइने बताए । उनका अनुसार ३ सय २८ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ४ सय २ जना उपभोक्ता आबद्ध रहेका छन् ।

समूहका सचिव रोशनचन्द्र श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८३/८४ मा समूहको आय–व्यय १ करोड ४० लाख १० हजार ९ सय ३१ रुपैयाँ ४२ पैसा रहेको छ । वनको आम्दानीबाट सडक, कल्भर्ट, पार्क तथा तटबन्ध निर्माण र उपभोक्तालाई बाख्रा वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य सरस्वती खुलालको प्रमुख आतिथ्यमा भएको सभामा महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहाल, उपाध्यक्ष टीकबहादुर आचार्य, महासचिव प्रेमकुमारी तिमल्सिना र गैँडाटार सब–डिभिजन वन कार्यालयका अधिकृत सुभाषचन्द्र शाह विशिष्ट अतिथिका रुपमा सहभागी रहेका थिए।

सभामा वन संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्‍याउने अमिरखा धामी, सीताराम कुमर, करण धामी, कुलचन्द्र धामी, रोशनचन्द्र श्रेष्ठ, ज्योति बुढा, सुमन बुढाथोकी, किशन शाह, शम्भु महतो तथा संस्थापक अध्यक्ष रामपुजन गुरोलगायतलाई सम्मान गरिएको थियो । त्यस्तैगरी सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी तथा गैँडाटार सब–डिभिजन वन कार्यालयका अधिकृत शाहलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा चन्द्रपुर–३ का वडासदस्य रिस्ता घलानलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, छिमेकी सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताको सहभागिता थियो । हेरौँ हेरौँ लाग्ने वैज्ञानिक वन, सबै उपभोक्ताको हरियाली वातावरण बनाउने हुनुपर्छ मन’ भन्ने अभियानसहित आयोजित सभामा हातेमालो, भोर्लेनी, नवदुर्गा, कालापानी, आदर्श, नमोबुद्ध र पेम्पा दार्जिङ सामुदायिक वनका पदाधिकारी पनि सहभागी थिए ।

सभाले वार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रम बहुमतबाट पारित गरेको छ । कार्यक्रम समूहका भुनेश्वर गुरोले सञ्चालन गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित