बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा जीतपुरसिमरामा स्थानीयको आन्दोलन चर्किएको छ । बिहीबार स्थानीयले उपमहानगरपालिकाभित्रका विभिन्न ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।
घटनाको विरोधमा जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयहरूले शोकसभा आयोजना गरी विद्यालय बन्द गरेका छन् । विद्यालयहरूले बालिका हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् ।
गरिमाको खोजीका क्रममा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीमाथि समेत कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीले प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
गरिमालाई न्यायको माग गर्दै रौतहटको डुमरियामा समेत प्रदर्शन गरिएको छ । आन्दोलनको प्रभाव बाराका विभिन्न सडक तथा बजार क्षेत्रमा परेको छ । सिमरा–डुमरवाना, सिमरा–जीतपुर, सिमरा–कलैया, कोल्हवी, पिलुवा–वडहर्वा तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
स्थानीयको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएको छ । यसअघि बुधबारदेखि नै वीरगन्ज–पथलैया सडकखण्डमा यातायात अवरुद्ध हुँदै आएको थियो ।
आन्दोलनका कारण सर्वसाधारण तथा यात्रुहरू प्रभावित भएका छन् । घटनामा दोषीलाई कारबाही र प्रहरीको भूमिकाबारे छानबिनको माग गर्दै स्थानीयले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि छलफल भइरहेको र निर्णायक वार्ताको तयारी गरिएको बताएका छन् ।






















Discussion about this post