बारा । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्योट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कुल मुद्दाको करिब ६२ प्रतिशत फर्छ्योट भएको जानकारी दिएका हुन् ।
उनका अनुसार ५ सय १८ मुद्दा अझै फर्छ्योट हुन बाँकी छन् । यो कुल दर्ता मुद्दाको करिब ३८ प्रतिशत हो ।
एसपी कुँवरका अनुसार २०८२ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएयता अपराध नियन्त्रण तथा अनुसन्धानसँगै चोरी–तस्करी नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राख्दै आएको छ ।
१० करोडभन्दा बढीका अवैध सामान बरामद
प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको जनाएको छ ।
अवैध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरिएको तथा ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको एसपी कुँवरले बताए ।
खुला सीमाबाट हुने चोरीपैठारी तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती बढाइएको उनले बताए । शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच तथा निगरानी भइरहेको प्रहरीको भनाइ छ ।
बैंकिङ कसुरका मुद्दा बढ्दै
बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर र घरेलु विवाद चुनौतीका रूपमा देखिएको एसपी कुँवरले बताए ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुरसम्बन्धी १ सय ९५ वटा मुद्दा दर्ता भएकामा १ सय ३१ वटा फर्छ्योट भएका छन् । ६४ वटा मुद्दा भने बाँकी छन् ।
अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी १ सय ४७ वटा मुद्दा दर्ता भएका थिए । यसरी हेर्दा एक वर्षको अवधिमा बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्या ४८ ले बढेको देखिन्छ ।
लागुऔषधदेखि महिला तथा बालबालिका
अपराधसम्म निगरानी
प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी–तस्करी नियन्त्रण, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाएको एसपी कुँवरले जानकारी दिए ।
उनका अनुसार अपराध नियन्त्रणका लागि प्रहरीको नियमित गस्ती, निगरानी र अनुसन्धानलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।
दरबन्दीभन्दा ६१ प्रहरी कम
जिल्ला प्रहरी कार्यालय बारामा ९ सय ५३ जना प्रहरीको दरबन्दी रहे पनि हाल ८ सय ९२ जना मात्र कार्यरत छन् ।
दरबन्दीअनुसार ६१ जना प्रहरी जनशक्ति अपुग रहेको एसपी कुँवरले बताए । जनशक्ति अभावका बाबजुद उपलब्ध प्रहरी जनशक्तिबाट जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा गस्तीको काम सञ्चालन भइरहेको उनले बताए ।
प्रहरीका अनुसार खुला सीमा, बढ्दो सहरीकरण, साइबर तथा बैंकिङ अपराध र सीमापार हुने अवैध कारोबार बारामा सुरक्षा चुनौतीका रूपमा रहेका छन् ।






















Discussion about this post