बारा । निजगढ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको बकैया खोलामा नयाँ पुल निर्माण हुने भएको छ । कमला–पथलैया सडकखण्ड विस्तार आयोजनाअन्तर्गत सडक विभागले हालको पुलसँगै जोडेर दक्षिणतर्फ दुई लेनको नयाँ पुल निर्माण गर्न लागेको हो ।
सडक विभागको पुल निर्माण शाखाले आह्वान गरेको बोलपत्र प्रक्रियाबाट काठमाडौंको रोशन निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी पाएको छ । पुल निर्माणका लागि १२ वटा निर्माण कम्पनी ठेक्का प्रक्रियामा सहभागी भएका थिए । निर्माण कम्पनीले हाल पुल निर्माणस्थलको डिटेल सर्भे र माटो परीक्षणको काम अघि बढाएको छ । निर्माण कम्पनीका प्राविधिक सन्तोष श्रेष्ठका अनुसार डिटेल सर्भेको काम सम्पन्न भइसकेको छ ।
‘सर्भेको काम पूरा भएको छ । अहिले माटो परीक्षणलगायतका प्राविधिक काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘माटो परीक्षणको काम पूरा भएलगत्तै पुल निर्माण सुरु हुन्छ । दशैंलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।’ ठेक्का सम्झौताअनुसार नयाँ पुल हाल रहेको पुलसँगै दक्षिणतर्फ निर्माण गरिनेछ । पुल निर्माणसँगै बकैया खोलाको दुवै किनारमा पुलको केन्द्रबाट उत्तर र दक्षिणतर्फ ५–५ सय मिटर तटबन्ध निर्माण गर्ने योजना पनि रहेको छ ।
पथलैया सडक विस्तारसँगै नयाँ पुल सर्लाहीको बागमतीदेखि बाराको पथलैयासम्म सडक विस्तारको तयारी भइरहेका बेला बकैया खोलामा भने पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला नदीदेखि बाराको पथलैयासम्म करिब १३० किलोमिटर पूर्व–पश्चिम राजमार्गलाई चार तथा छ लेनमा विस्तार गर्ने योजना छ । हाल दुई लेनमा सञ्चालन भइरहेको राजमार्गलाई एसियाली मापदण्डअनुसार विस्तार गर्न लागिएको हो । सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर चौडा सडक निर्माण गरिनेछ भने अन्य क्षेत्रमा मेडियनसहित १८ मिटर चौडाइको चार लेन सडक बनाउने योजना छ ।
यसअन्तर्गत सर्लाही, महोत्तरी र धनुषा जिल्लाका विभिन्न खण्डमा सडक विस्तारको काम अघि बढिरहेको छ । बाराको पथलैयासम्म सडक विस्तारको तयारी भइरहँदा बकैया खोलामा नयाँ पुल निर्माण सुरु हुन लागेको हो । नयाँ पुल निर्माण भएपछि बकैया खोलामा अहिलेको दुई लेनको पुलसँगै थप दुई लेनको संरचना तयार हुनेछ । यसले भविष्यमा चार लेनको राजमार्ग सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।






















Discussion about this post