रौतहट । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको भनिएको विवाद पुनः सतहमा आएको छ । सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालको प्रशंसा गरेका नगर प्रमुख काफ्लेले त्यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उनकै सरुवाको माग गर्दै पत्र पठाएको तथ्य सार्वजनिक भएपछि नगर नेतृत्वको निर्णय र कार्यशैलीमाथि प्रश्न उठेको छ ।
साउन २६ मा चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख काफ्लेले ढकाललाई कानुन तथा प्रशासनिक विषयमा दक्ष र योग्य कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए । आफू र प्रमुख प्रशासकीय अधिकृतबीच कुनै विवाद नरहेको उनको दाबी थियो । तर साउन १७ मा मन्त्रालयमा पठाइएको पत्रमा भने ढकाल जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न असफल भएको, कार्यसम्पादन सन्तोषजनक नरहेको तथा उनीविरुद्ध जनगुनासो रहेको उल्लेख गर्दै सरुवाको माग गरिएको बताइएको छ ।
एउटै व्यक्तिबारे सार्वजनिक अभिव्यक्ति र औपचारिक पत्राचारमा देखिएको फरक धारणा अहिले विवादको मुख्य विषय बनेको छ । ढकालप्रति नेतृत्वको विश्वास कायम थियो भने सरुवाको माग किन गरियो ? र सरुवा मागिएको हो भने सार्वजनिक रूपमा उनको प्रशंसा किन गरियो ? नगरवासीले यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।
नगर स्रोतका अनुसार विवादको एउटा पाटो आर्थिक अनुशासनसँग पनि जोडिएको छ । ढकालले जिम्मेवारी सम्हालेपछि इन्धन, विविध खर्चलगायतका शीर्षकमा खर्च नियन्त्रण र प्रशासनिक प्रक्रियामा कडाइ गर्न थालेपछि नेतृत्व र प्रशासनबीच असमझदारी बढेको स्रोतको दाबी छ । यद्यपि यसबारे नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
यसबीच केही कर्मचारीमाथि दबाब सिर्जना गरिएको र कार्यालयको वातावरण प्रभावित पार्ने गतिविधि भएको आरोपसमेत उठेको छ ।
तर त्यस्ता आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
विवाद समाधानका लागि उपप्रमुख तथा केही वडाध्यक्षले पहल गरे पनि अहिलेसम्म ठोस निकास निस्कन सकेको छैन । नेतृत्व र प्रशासनबीचको असमझदारीले नगरपालिकाको नियमित प्रशासनिक काममा समेत असर पर्न सक्ने अवस्था देखिएको छ ।
नगरपालिकाको बैंक खाता सञ्चालन, प्रशासनिक निर्णय तथा नियमित भुक्तानीमा अन्योल बढे त्यसको असर जनप्रतिनिधि वा कर्मचारीमा मात्र सीमित रहने छैन । कर्मचारी तथा शिक्षकको तलब, विपद् व्यवस्थापन, पशु स्वास्थ्य कार्यक्रम, अत्यावश्यक खरिद तथा अन्य सेवा प्रवाह प्रभावित भए त्यसको प्रत्यक्ष भार सेवाग्राहीले बेहोर्नुपर्नेछ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच मतभेद हुनु अस्वाभाविक होइन । तर मतभेदलाई संवाद र संस्थागत प्रक्रियाबाट समाधान गर्नुको सट्टा त्यसको असर नगरपालिकाको सेवा प्रवाहमै देखिन थाल्यो भने प्रश्न नेतृत्वको कार्यशैलीतर्फ सोझिन्छ ।
चन्द्रपुरमा अहिलेको विवाद केवल मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको व्यक्तिगत असमझदारी हो कि नगर सञ्चालनको शैली, आर्थिक अनुशासन र अधिकार प्रयोगसम्बन्धी गहिरो मतभेद ? यसको जवाफ नगर नेतृत्वले स्पष्ट रूपमा दिनुपर्ने देखिन्छ । नागरिकले खोजेको भनेको आरोप–प्रत्यारोप होइन, निर्बाध सेवा, पारदर्शी प्रशासन र जिम्मेवार नेतृत्व हो ।





















Discussion about this post