रौतहट । दुष्यन्त चौधरी/चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको विवाद चर्किँदा नगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम पारित भइसके पनि नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको हो ।
नगरपालिकाको मूल कार्यालयसँगै वडा कार्यालय, नगर अस्पताल, कृषि, पशु, शिक्षा तथा अन्य शाखाका सेवा प्रभावित भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्थानीय सरकारको वार्षिक बजेट कार्यान्वयन सुरु गर्नुपर्ने समयमा राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीच देखिएको असमझदारीले नगरको कामकाज नै प्रभावित भएको कर्मचारी तथा जनप्रतिनिधिहरूको भनाइ छ ।
स्रोतका अनुसार असार १० गते सुरु भएर साउन ७ गते सम्पन्न नगरसभाको निर्णय पुस्तिका नगर प्रमुख काफ्लेको नियन्त्रणमा रहेको र प्रमुख प्रशासकीय अधिकृत ढकाललाई आवश्यक अख्तियारी नदिइएको आरोप छ । अख्तियारी नहुँदा बजेट कार्यान्वयन तथा वित्तीय कारोबार अघि बढाउन समस्या भएको कर्मचारी तथा जनप्रतिनिधिहरूले बताएका छन् ।
‘आफूअनुकूलको हाकिम खोजेको’ आरोप :
नगरपालिकाभित्रको विवाद प्रशासनिक समन्वयमा मात्रै सीमित नभई प्रमुख प्रशासकीय अधिकृतको विषयमा समेत केन्द्रित भएको जनप्रतिनिधिहरूको दाबी छ ।
एक वडा अध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा नगर प्रमुख काफ्ले आफूअनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याउन खोजिरहेको र हाल कार्यरत ढकाललाई सरुवा गराउन विभिन्न तहमा दबाब दिइरहेको आरोप लगाए ।
“मेयर साहेबलाई आफूले भनेको हाकिम चाहिएको छ । आफूअनुकूलको व्यक्ति नआएसम्म काम अगाडि बढ्न नदिने अवस्था देखिएको छ,” ती वडा अध्यक्षले भने ।
यद्यपि नगर प्रमुख काफ्लेको पक्षबाट यस आरोपबारे औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेन । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा काफ्लेले फोन उठाएनन् ।
‘अख्तियारी आएपछि काम गर्न तयार छु’
प्रमुख प्रशासकीय अधिकृत ढकालले भने आफू कार्यालयको काम सञ्चालन गर्न तयार रहेको बताएका छन् । नगर प्रमुखसँग लामो समयदेखि संवाद हुन नसकेको उनले स्वीकार गरे ।
“अख्तियारी आएपछि काम गर्न हामी तयार छौं । किन ढिलाइ भइरहेको छ, मलाई थाहा छैन,” अधिकृत ढकालले भने । आफ्नो सरुवा गराउने प्रयास भइरहेको चर्चाबारे उनले भने, “सरुवा गराउन लागेको भए पनि ठीकै छ नि ।” नगरपालिकाको काम प्रभावित भएको हो कि होइन भन्ने प्रश्नमा उनले छोटो प्रतिक्रिया दिए, “काम प्रभावित त अवश्य नै हुन्छ ।”
आर्थिक अनुशासनमा कडाइपछि विवाद?
नगरपालिकाका कर्मचारी तथा केही जनप्रतिनिधिहरूले मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादको अर्को कारण आर्थिक अनुशासनसँग जोडिएको दाबी गरेका छन् ।
उनीहरूका अनुसार ढकालले इन्धन, भ्रमण, होटल तथा नगरपालिका स्रोत–साधनको प्रयोगमा कडाइ गरेपछि राजनीतिक नेतृत्व असन्तुष्ट बनेको हो ।
एक कर्मचारीले भने, “पहिले खर्चमा धेरै छुट थियो, अहिले हाकिमले नियन्त्रण गरेपछि असन्तुष्टि बढेको हो ।”
तर यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन । नगर प्रमुख काफ्लेको प्रतिक्रिया पनि प्राप्त नभएकाले आरोपको अर्को पक्ष स्पष्ट हुन सकेको छैन ।
कर्मचारीमाथि दबाब दिएको आरोप :
नगरपालिकाका केही कर्मचारी तथा कार्यपालिका सदस्यले नगर प्रमुखबाट विभिन्न शाखामा पुगेर कर्मचारीमाथि दबाब सिर्जना गर्ने गरिएको आरोपसमेत लगाएका छन् ।
एक कार्यपालिका सदस्यका अनुसार जिन्सी शाखा प्रमुख मिश्रिलाल साह, लेखा प्रमुख अर्पणा देवकोटा, इन्जिनियर भरत श्रीवास्तव र प्रशासन शाखा प्रमुख उमा गैराप्पीलगायत कर्मचारीमाथि दबाब परेको दाबी गरिएको छ । शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलसँग समेत अनुचित माग राखिएको आरोप ती सदस्यले लगाए ।
यी आरोपबारे पनि नगर प्रमुखको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
राजस्व उठाउने विषयमा समेत विवाद :
नगरपालिकाको आन्तरिक आय व्यवस्थापनलाई लिएर पनि विवाद देखिएको जनप्रतिनिधिहरू बताउँछन् । हाटबजार, नुनथर, एरिया निकासी करलगायतका आयस्रोतलाई व्यवस्थित रूपमा ठेक्का प्रक्रियामा लैजाने विषयमा मतभेद भएको उनीहरूको भनाइ छ ।
एक वडा अध्यक्षले विगतमा अमानतमार्फत राजस्व उठाउने प्रयास भएको आरोप लगाउँदै अहिले ठेक्का प्रणालीबाट राजस्व व्यवस्थापन गर्न खोजिएपछि विवाद थप चर्किएको दाबी गरे ।
राजस्व शाखाका कर्मचारीले चार्जिङ स्टेसन सञ्चालनमा समेत अवरोध सिर्जना भएको र त्यसबाट नगरपालिकालाई आर्थिक क्षति पुगेको दाबी गरेका छन् । ‘हाकिम आएपछि अनुशासन बढेको छ’
विवादकै बीच केही कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृत ढकाल आएपछि कार्यालयमा प्रशासनिक अनुशासन बढेको दाबी गरेका छन् ।
सहकारी शाखा प्रमुख शेख नसरे आलमले कर्मचारीबीच समन्वय बढेको, कार्यालयमा नियमित उपस्थितिको वातावरण बनेको र कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने अवस्था बनेको बताए ।
उनका अनुसार कार्यालय सञ्चालनमा प्रशासनिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने भएकाले राजनीतिक नेतृत्व र कर्मचारीबीच समन्वय आवश्यक छ ।
विवादको मारमा सेवाग्राही :
नगरपालिका नेतृत्वबीचको विवादले अन्ततः सेवाग्राहीलाई असर पारेको छ । स्थानीय तहमा बजेट पारित भएर पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढ्न नसक्दा विकास निर्माण, भुक्तानी, सेवा प्रवाह तथा दैनिक प्रशासनिक काममा असर परेको कर्मचारीहरू बताउँछन् ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भूमिका फरक–फरक भए पनि नगरपालिकाको नियमित प्रशासनिक तथा वित्तीय काम प्रभावकारी बनाउन दुवैबीच समन्वय आवश्यक हुन्छ । तर चन्द्रपुरमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको टकराव बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर कार्यालय सञ्चालन र नागरिक सेवामा देखिन थालेको छ ।
नगरसभाले पारित गरेको बजेट कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि र कर्मचारीबीच नै विवाद बढेपछि चन्द्रपुरको स्थानीय शासन प्रणालीमाथि प्रश्न उठेको छ । ‘कसको मान्छे हाकिम?’ भन्ने विवादभन्दा ‘कसरी नागरिकलाई सेवा दिने?’ भन्ने प्रश्न प्राथमिकतामा पर्नुपर्ने स्थानीयको भनाइ छ ।
विवाद समाधानका लागि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका र कर्मचारीबीच तत्काल संवाद र समन्वय हुन नसके यसको असर नगरपालिकाको आर्थिक गतिविधि र विकास निर्माणमा अझै बढ्ने देखिन्छ ।






















Discussion about this post