कहिलेकाहीँ जीवनमा यस्ता यात्राहरू हुन्छन्, जसले केवल भौगोलिक दूरी मात्र पार गर्दैनन्, बरु सोच, दृष्टिकोण र अनुभूतिका सीमाहरू पनि फराकिलो बनाइदिन्छन् । केही यात्राहरू गन्तव्यमा पुगेर समाप्त हुँदैनन्, बरु तिनले मनभित्र नयाँ प्रश्नहरू जन्माउँछन्, नयाँ उत्तरहरू खोज्न प्रेरित गर्छन् र भविष्यलाई हेर्ने दृष्टि बदलिदिन्छन् । “समृद्धिको लागि वन” कार्यक्रम अन्तर्गत सम्पन्न अध्ययन अवलोकन भ्रमण मेरो लागि त्यस्तै एउटा अर्थपूर्ण, शिक्षाप्रद र जीवन्त यात्रा बन्यो ।
हामीले सिमराबाट यात्रा सुरु गर्दा मनमा एक किसिमको उत्साह थियो । तर त्यो उत्साह केवल नयाँ ठाउँ हेर्ने मात्र थिएन । त्यो उत्साह थियो सिक्ने, बुझ्ने, अनुभव गर्ने र आफ्नै समुदाय तथा वन व्यवस्थापनमा उपयोगी हुने ज्ञान लिएर फर्किने । बिहानको समय थियो । सिमराबाट अगाडि बढ्दै गर्दा पूर्वतर्फको उज्यालोले विस्तारै आकाश रंगिन थालेको थियो । सडक किनारका रुखहरू, हरिया डाँडाहरू, खेतबारी र गाउँबस्तीहरूलाई हेर्दा नेपालको प्राकृतिक सम्पदा कति विशाल र समृद्ध रहेछ भन्ने अनुभूति भइरहेकै थियो ।
आम्लेखगञ्ज हुँदै हेटौंडा पुग्दा बाटोभरि फैलिएको हरियालीले एउटा गम्भीर प्रश्न मनमा उठाइरहेको थियो हामीले विकासलाई वास्तवमा कसरी परिभाषित गरेका छौं? पछिल्ला वर्षहरूमा विकासका नाममा सडक बने, भवन बने, बजार विस्तार भए । तर त्यही विकासको दौडमा प्रकृतिलाई कति महत्व दिइयो? वन जोगिएन भने सडकले मात्र कति दिन जीवन धान्न सक्छ? नदी सुक्यो भने पुलको अर्थ के रहन्छ? हावा प्रदूषित भयो भने आधुनिक शहरले कति सुख दिन सक्छ? यस्तै-यस्तै प्रश्नहरु ।
हेटौंडामा छोटो विश्रामपछि यात्रा पुनः अगाडि बढ्यो नारायणघाट हुँदै नवलपरासी पुग्दासम्म हामीले नेपालको भूगोल मात्र होइन, प्रकृतिको विविध रूप पनि नियालिरहेका थियौं । कतै घना वन, कतै नदी किनार, कतै पहाडी भूभाग र कतै विशाल समथर मैदान । प्रकृतिले नेपाललाई उदार भएर दिएको सम्पत्तिको झल्को हरेक मोडमा देखिन्थ्यो ।
नवलपरासीस्थित मध्यविन्दु साझेदारी वनमा पुग्दा भ्रमणले वास्तविक उद्देश्य प्राप्त गर्न थालेको महसुस भयो । त्यहाँका अध्यक्ष तथा पदाधिकारीहरूसँग भएको अन्तरक्रियाले एउटा कुरा स्पष्ट गरिदियो वन संरक्षण केवल वातावरणीय मुद्दा होइन, यो आर्थिक र सामाजिक समृद्धिको पनि आधार हो ।
नेपालमा वनलाई धेरै समयसम्म काठ, दाउरा र घाँसको स्रोतका रूपमा मात्र हेरियो । तर मध्यविन्दु साझेदारी वनका अनुभवहरूले त्यो सोच बदल्ने प्रयास गरिरहेका थिए । वनले केवल काठ मात्र उत्पादन गर्दैन । वनले पानी दिन्छ, हावा शुद्ध बनाउँछ, जैविक विविधता संरक्षण गर्छ, पर्यटनको सम्भावना सिर्जना गर्छ, स्थानीय समुदायलाई रोजगार दिन्छ र वातावरणीय सन्तुलन कायम राख्छ । वनको वास्तविक मूल्य काठको मूल्यभन्दा हजारौं गुणा बढी छ ।
वन अवलोकनका क्रममा सहभागीहरू आ–आफ्नो तरिकाले व्यस्त थिए । कोही फोटो खिचिरहेका थिए, कोही भिडियो बनाइरहेका थिए, कोही वन व्यवस्थापनका सूक्ष्म पक्षहरू नियालिरहेका थिए । तर सबैको उद्देश्य एउटै थियो केहि सिक्ने । हामीले खिचेका तस्बिरहरू केवल सामाजिक सञ्जालमा राख्नका लागि मात्र थिएनन् । ती तस्बिरहरू भविष्यका लागि सन्देश थिए कि नेपालको समृद्धिको एउटा महत्वपूर्ण आधार वन पनि हो ।
मध्यविन्दु साझेदारी वनमा देखिएको समुदायको सक्रियता प्रेरणादायी थियो । वन जोगाउने जिम्मेवारी सरकारले मात्र लिन सक्दैन । स्थानीय समुदायको स्वामित्व, सहभागिता र प्रतिबद्धता बिना संरक्षण सम्भव हुँदैन । नेपालको सामुदायिक वन कार्यक्रम सफल हुनुको मूल कारण यहि थियो यही पनि हो ।
त्यसपछि अरुणखोलामा खाना खाएर हामी पश्चिमतर्फ लाग्यौं । दाउन्नेका उकालो–ओरालो पार गर्दै यात्रा गर्दा प्रकृतिको विशालता अझ नजिकबाट अनुभूत भयो । डाँडाकाँडामा ढाकेर बसेका वनहरूले केवल हरियाली मात्र दिएका छैनन्, तिनले पहिरो रोकेका छन्, पानीका स्रोत जोगाएका छन् र लाखौं मानिसको जीवन सुरक्षित बनाएका छन् ।
साँझतिर लुम्बिनी पुगियो । बाटोमा परेकाले हामी लुम्बिनी घुम्ने अवसर प्राप्त गर्यो । बुद्ध जन्मिएको भूमि टेक्दा मनमा एउटा अद्भुत अनुभूति जाग्यो । मायादेवी मन्दिर परिसरमा पुगेर इतिहासलाई नजिकबाट महसुस गर्न पाइयो । संसारलाई शान्ति, करुणा र सहअस्तित्वको सन्देश दिने सिद्धार्थ गौतम बुद्धको जन्मस्थलमा उभिँदा मन अनायासै वर्तमान विश्वतर्फ मोडिन पुग्यो ।
आज विश्व जलवायु संकटसँग जुधिरहेको छ । वातावरणीय असन्तुलन बढिरहेको छ । युद्ध, हिंसा र प्राकृतिक संकटहरू विश्वभर बढिरहेका छन् । यस्ता बेला बुद्धको सन्देश अझ सान्दर्भिक देखिन्छ । प्रकृतिसँग सहअस्तित्व, जीवनप्रतिको सम्मान र लोभमुक्त विकासको अवधारणा आजको मानव समाजलाई अत्यन्त आवश्यक छ ।
लुम्बिनीमा हजारौं पर्यटक आउँछन् । त्यसले पर्यटन र संरक्षणबीचको सम्बन्ध पनि देखाउँछ । यदि वातावरण जोगियो भने पर्यटन फस्टाउँछ । पर्यटन फस्टायो भने स्थानीय अर्थतन्त्र बलियो हुन्छ । यसरी हेर्दा वन, वातावरण र आर्थिक विकासमा एकअर्कासँग गहिरो रूपमा जोडिएका विषय हुन् ।
बुटवलमा रात बिताएपछि अर्को दिन यात्रा अझ पश्चिमतर्फ अघि बढ्यो । कपिलवस्तु, कैलाली र कञ्चनपुर पुग्दा नेपालको विशालता झन् महसुस भयो । फरक भाषा, फरक संस्कृति, फरक जीवनशैली भए पनि एउटा कुरा समान देखियो प्रकृतिप्रतिको निर्भरता ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुग्दा नेपालको प्राकृतिक सम्पदाप्रति गर्वले मन भरियो । विशाल घाँसे मैदान, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र संरक्षणका प्रयासहरूले नेपालको पर्यावरणीय महत्वलाई विश्वस्तरमा स्थापित गरेका छन् ।
शुक्लाफाँटा केवल एउटा राष्ट्रिय निकुञ्ज होइन। यो जैविक विविधताको विश्वविद्यालय हो जस्तो मलाई लाग्यो । यहाँका घाँसे मैदानले हजारौं जीवजन्तुलाई आश्रय दिएका छन् । यहाँका वनहरूले वातावरणीय सन्तुलन कायम राखेका छन् । यहाँका प्राकृतिक स्रोतहरूले स्थानीय समुदायको जीवनमा पनि योगदान पुर्याएका छन् ।
तर यस्ता क्षेत्रहरूलाई जोगाउनु सजिलो छैन । बढ्दो जनसंख्या, वन अतिक्रमण, अवैध कटानी, जलवायु परिवर्तन र विकासका दबाबहरूले संरक्षणलाई चुनौती दिइरहेका छन् । त्यसैले संरक्षणलाई केवल सरकारी कार्यक्रमका रूपमा होइन, जनआन्दोलनका रूपमा अघि बढाउन आवश्यक छ ।
महाकाली नदी किनार पुग्दा प्रकृतिको विशालता झन् नजिकबाट महसुस भयो । बगिरहेको नदीलाई हेर्दा समयको निरन्तरता सम्झना आयो । नदीले सधैं बग्न जान्दछ, प्रकृतिले सधैं दिन जान्दछ । तर मानवले प्रकृतिबाट लिने मात्र सिकेको छ, दिने कुरा कम सिकेको छ ।
आज विश्वभर वातावरणीय संकट गहिरिँदै जानुको एउटा प्रमुख कारण यही हो । हामीले प्रकृतिलाई साझेदारको रूपमा होइन, स्रोतको रूपमा मात्र हेर्यौं । परिणामस्वरूप वन विनाश भयो, नदी प्रदूषित भए, जैविक विविधता संकटमा पर्यो ।
फर्कने क्रममा बर्दियाको हरियाली सामुदायिक वन, चन्दक चटिया महिला सामुदायिक वन र तिलौराकोट साझेदारी वनको भ्रमण गरियो । यी तीनवटै वन क्षेत्रले वन संरक्षणको अर्को महत्वपूर्ण पाटो उजागर गरे समुदायको शक्ति, सामूहिक नेतृत्व र स्थानीय स्वामित्वको महत्व । वन संरक्षणका बारेमा पुस्तकमा पढ्न सकिने धेरै कुरा छन्, नीति तथा कार्यक्रमहरूमा उल्लेख गरिएका धेरै अवधारणाहरू छन्, तर ती अवधारणाहरू व्यवहारमा कसरी कार्यान्वयन हुन्छन् भन्ने कुरा यस्ता वन क्षेत्रहरूको प्रत्यक्ष अवलोकनबाट मात्र गहिरोसँग बुझ्न सकिन्छ ।
भ्रमणका क्रममा देखिएको सबैभन्दा सकारात्मक पक्ष भनेको स्थानीय समुदायको सक्रिय सहभागिता थियो । वन संरक्षणलाई उनीहरूले सरकारी कार्यक्रमको रूपमा मात्र लिएका थिएनन् । उनीहरूले वनलाई आफ्नै सम्पत्ति, आफ्नै भविष्य र आफ्नै जीवनसँग जोडिएको विषयका रूपमा बुझेका थिए । यही अपनत्वको भावनाले गर्दा वन संरक्षणका गतिविधिहरू प्रभावकारी र दिगो बन्न सकेका थिए र रहेछन ।
विशेषगरी बर्दियाको हरियाली सामुदायिक वनले सामुदायिक एकता र संरक्षणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको थियो । वनलाई व्यवस्थित रूपमा संरक्षण गर्दै स्थानीय समुदायले वनको दिगो उपयोग कसरी गर्न सक्छ भन्ने कुरा त्यहाँका अभ्यासहरूले देखाइरहेका थिए । वन संरक्षणसँगै समुदायको सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाइएको देख्दा सामुदायिक वनको वास्तविक उद्देश्य प्रस्ट रूपमा झल्किन्थ्यो ।
त्यसैगरी चन्दक चटिया महिला सामुदायिक वन पुग्दा वन संरक्षणमा महिलाहरूको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा अझ स्पष्ट रूपमा अनुभूत भयो । महिलाहरू केवल बैठकमा सहभागी हुने वा औपचारिक उपस्थिति जनाउने भूमिकामा सीमित थिएनन् । उनीहरू नेतृत्वको अग्रपंक्तिमा थिए । निर्णय निर्माण प्रक्रियामा सक्रिय थिए । वन व्यवस्थापनका योजना बनाउनेदेखि कार्यान्वयनसम्म उनीहरूको प्रत्यक्ष संलग्नता थियो । संरक्षणका अभियानहरू सञ्चालन गर्ने, वन स्रोतहरूको व्यवस्थापन गर्ने, समुदायलाई सचेत बनाउने तथा भावी योजनाहरू तय गर्ने कार्यमा महिलाहरूको उल्लेखनीय भूमिका देखिन्थ्यो ।
यो दृश्य केवल वन संरक्षणको दृष्टिकोणबाट मात्र महत्वपूर्ण थिएन । यसले महिला सशक्तीकरणको एउटा सशक्त उदाहरण पनि प्रस्तुत गरिरहेको थियो । समाजमा महिलाहरूलाई अवसर र नेतृत्वको जिम्मेवारी दिइयो भने उनीहरूले परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश त्यहाँको कार्यशैलीले स्पष्ट रूपमा दिएको थियो । वन संरक्षण र महिला सशक्तीकरणबीचको सम्बन्ध कति गहिरो छ भन्ने कुरा पनि त्यहीँबाट बुझ्न सकिन्थ्यो ।
वनसँग महिलाहरूको सम्बन्ध परम्परागत रूपमा निकै नजिकको रहँदै आएको छ । घरपरिवारका लागि आवश्यक दाउरा, घाँस, पानी तथा अन्य वनजन्य स्रोतसँग उनीहरूको दैनिक सम्बन्ध हुन्छ । त्यसैले वनको महत्व उनीहरूले व्यवहारिक रूपमा अझ गहिरोसँग बुझेका हुन्छन् । यही कारणले गर्दा महिला नेतृत्वमा सञ्चालित वन समूहहरू धेरै ठाउँमा सफल र प्रभावकारी देखिएका छन् । चन्दक चटिया महिला सामुदायिक वनले पनि यही वास्तविकतालाई पुष्टि गरिरहेको थियो ।
भ्रमणको अर्को महत्वपूर्ण गन्तव्य थियो तिलौराकोट साझेदारी वन । यो स्थान पुग्दा भ्रमणको सबैभन्दा महत्वपूर्ण सिकाइ प्राप्त भएको अनुभूति भयो । यहाँ वन संरक्षणलाई केवल वातावरणीय पक्षसँग मात्र सीमित राखिएको थिएन । वनलाई स्थानीय विकास, आर्थिक समृद्धि, पर्यटन प्रवद्र्धन, जैविक विविधता संरक्षण र सामुदायिक हितसँग एकीकृत रूपमा जोडिएको थियो ।
तिलौराकोट साझेदारी वनका अभ्यासहरूले वनलाई कसरी समृद्धिको आधार बनाउन सकिन्छ भन्ने प्रश्नको व्यवहारिक उत्तर दिएका थिए । वन संरक्षण र आर्थिक विकास एकअर्काका विरोधी होइनन्, बरु एकअर्काका पूरक हुन सक्छन् भन्ने कुरा त्यहाँ स्पष्ट रूपमा देख्न पाइन्थ्यो । वन जोगाउँदै स्थानीय समुदायको आयआर्जन बढाउन सकिन्छ । जैविक विविधता संरक्षण गर्दै पर्यटन विकास गर्न सकिन्छ । वातावरणीय सन्तुलन कायम राख्दै स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन सकिन्छ भन्ने उदाहरण त्यहाँका गतिविधिहरूले प्रस्तुत गरिरहेका थिए ।
विशेषगरी वनमा आधारित पर्यटन विकासका प्रयासहरू निकै सम्भावनायुक्त देखिन्थे । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व, जैविक विविधता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटक आकर्षित गर्ने प्रयासले वन संरक्षणलाई आर्थिक अवसरसँग जोड्ने नयाँ दृष्टिकोण प्रस्तुत गरिरहेको थियो । यसले स्थानीय युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्न सक्ने सम्भावना पनि देखाएको थियो ।
तिलौराकोट साझेदारी वनमा भएको अन्तरक्रियाका क्रममा एउटा कुरा बारम्बार महसुस भयो समृद्धि प्राप्त गर्न प्रकृतिको विनाश आवश्यक छैन । बरु प्रकृतिको संरक्षण गर्दै पनि समृद्धि हासिल गर्न सकिन्छ । वनलाई जोगाउँदै आर्थिक विकास गर्न सकिन्छ । प्राकृतिक सम्पदाको दिगो उपयोगमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न सकिन्छ । यही अवधारणाले दिगो विकासको वास्तविक अर्थलाई उजागर गरिरहेको थियो ।
भ्रमणका क्रममा देखिएका यी सफल अभ्यासहरूले भविष्यप्रति आशावादी बन्ने बलियो आधार प्रदान गरे । नेपालमा वन क्षेत्रको सम्भावना अत्यन्त विशाल छ । यदि यस्ता सफल अभ्यासहरूलाई देशका अन्य क्षेत्रहरूमा पनि विस्तार गर्न सकियो भने वन संरक्षणसँगै आर्थिक समृद्धि, सामाजिक विकास र वातावरणीय सन्तुलनलाई एकसाथ अगाडि बढाउन सकिनेछ ।
हरियाली सामुदायिक वन, चन्दक चटिया महिला सामुदायिक वन र तिलौराकोट साझेदारी वनको भ्रमण केवल वन अवलोकन मात्र थिएन । त्यो समुदायको शक्ति, नेतृत्वको महत्व, संरक्षणको प्रभावकारिता र समृद्धिको सम्भावनालाई नजिकबाट बुझ्ने अवसर थियो । यी वनहरूले सिकाएको पाठ स्पष्ट थियो जब समुदाय जागरुक हुन्छ, जब महिलाहरू नेतृत्वमा आउँछन्, जब संरक्षणलाई विकाससँग जोडिन्छ, तब वन केवल हरियो क्षेत्र मात्र रहँदैन; त्यो समृद्धि, आत्मनिर्भरता र दिगो भविष्यको आधार बन्छ ।
नेपालमा आज लाखौं युवा रोजगारीको खोजीमा विदेशिएका छन् । गाउँका उर्वर खेतहरू बाँझिँदै गएका छन् । गाउँघरमा युवाशक्ति अभाव हुन थालेको छ । कृषिमा आकर्षण घट्दै गएको छ । परम्परागत पेशा र व्यवसायहरू क्रमशः ओझेलमा पर्दै गएका छन् । धेरै गाउँहरूमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी रहने अवस्था सिर्जना भएको छ । यो केवल जनशक्ति पलायनको समस्या मात्र होइन, यो ग्रामीण अर्थतन्त्र, सामाजिक संरचना र स्थानीय विकाससँग जोडिएको गम्भीर चुनौती हो ।
तर यही चुनौतीभित्र सम्भावनाको अर्को पाटो पनि लुकेको छ । यदि वनमा आधारित हरित अर्थतन्त्रको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न सकियो भने गाउँमै रोजगारी र उद्यमशीलताका प्रशस्त अवसरहरू सिर्जना गर्न सकिन्छ । वन केवल संरक्षणका लागि मात्र होइन, दिगो उपयोगका माध्यमबाट आर्थिक समृद्धिको आधार पनि बन्न सक्छ । वनजन्य उद्योग, जडिबुटी खेती तथा प्रशोधन, बाँसजन्य उत्पादन, प्राकृतिक रेशामा आधारित उद्योग, मौरीपालन, च्याउ खेती, वनमा आधारित हस्तकला, प्रकृति पर्यटन, इको–टुरिजम, होमस्टे व्यवसाय, वातावरणीय सेवा तथा कार्बन व्यापारजस्ता क्षेत्रहरूले हजारौं युवालाई आफ्नै गाउँमा आयआर्जनको अवसर दिन सक्छन् ।
विश्वका धेरै देशहरूले हरित अर्थतन्त्रलाई विकासको नयाँ मोडेलका रूपमा अघि बढाइरहेका छन् । नेपालसँग त यसको लागि अझ बढी सम्भावना छ । किनकि यहाँको वन सम्पदा, जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता आफैंमा अनुपम सम्पत्ति हुन् । यदि यी स्रोतहरूको दिगो उपयोग गर्न सकियो भने विदेश पलायनलाई केही हदसम्म रोक्न मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्न पनि सकिन्छ ।
भ्रमणका क्रममा विभिन्न वन क्षेत्रमा देखिएका सफल अभ्यासहरूले यही सम्भावना देखाइरहेका थिए । कतै सामुदायिक वनले स्थानीय रोजगारी सिर्जना गरेको थियो । कतै पर्यटनसँग वनलाई जोडिएको थियो । कतै वनको आम्दानीबाट सामाजिक विकासका कार्यक्रम सञ्चालन भएका थिए । यी उदाहरणहरूले वन संरक्षण र आर्थिक विकास एकअर्काका पूरक हुन सक्छन् भन्ने विश्वास अझ बलियो बनायो ।
यो भ्रमणले मलाई एउटा गहिरो सत्य बुझाएको छ समृद्धि केवल शहरका अग्ला भवनहरूमा, चौडा सडकहरूमा वा ठूला उद्योगहरूमा मात्र सीमित छैन । वास्तविक समृद्धि त प्रकृतिसँगको सन्तुलनमा लुकेको हुन्छ । समृद्धि वनका हरिया पातहरूमा पनि लुकेको छ । समृद्धि पहाडका काखबाट बग्ने स्वच्छ खोलाहरूमा पनि छ । समृद्धि सुरक्षित पानीका मुहानहरूमा पनि छ । समृद्धि जैविक विविधताको संरक्षणमा पनि छ । समृद्धि त्यो वातावरणमा छ जहाँ मानिस र प्रकृति एकअर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री हुन्छन् ।
आज विश्वले भोगिरहेको वातावरणीय संकटले पनि यही सन्देश दिइरहेको छ । आर्थिक विकासको नाममा प्रकृतिको अत्यधिक दोहन गरिएका धेरै देशहरू अहिले जलवायु संकटको चपेटामा परिरहेका छन् । तापक्रम वृद्धि, खडेरी, बाढी, डढेलो, समुद्री सतह वृद्धि र जैविक विविधताको ह्रास विश्वव्यापी चिन्ताको विषय बनेका छन् । नेपाल पनि यस संकटबाट अछुतो छैन । विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको छ । हिमालहरूमा हिउँ पग्लने गति बढिरहेको छ । हिमतालहरूको जोखिम बढिरहेको छ । पानीका परम्परागत स्रोतहरू सुक्दै गएका छन् । असमयमा वर्षा हुने, अत्यधिक वर्षा हुने वा लामो समयसम्म वर्षा नहुने समस्या बढ्दै गइरहेको छ । बाढी, पहिरो, डढेलो र खडेरीजस्ता विपद्का घटनाहरू प्रत्येक वर्ष थप जटिल बन्दै गएका छन् ।
यस्ता चुनौतीहरूको सामना गर्न वन संरक्षणभन्दा प्रभावकारी प्राकृतिक उपाय अर्को छैन । वनले वातावरणमा रहेको कार्बनडाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभाव कम गर्न सहयोग गर्छ । वनले वर्षाको पानीलाई जमिनभित्र सञ्चित गराएर पानीका स्रोतहरूलाई जीवित राख्छ । वनले माटोलाई बाँधेर पहिरो र भू–क्षय कम गर्छ । वनले जैविक विविधताको संरक्षण गर्छ । वनले तापक्रम नियन्त्रणमा सहयोग पुर्याउँछ । वनले प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ ।
यस अर्थमा वन केवल रुखहरूको समूह होइन । वन जीवनको आधार हो । वन वातावरणीय सुरक्षाको प्राकृतिक कवच हो । वन मानव सभ्यताको मौन संरक्षक हो । त्यसैले वन संरक्षणलाई केवल वातावरणीय मुद्दाका रूपमा होइन, आर्थिक, सामाजिक र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ ।
यदि हामीले वन जोगाउन सक्यौं भने भविष्य सुरक्षित हुनेछ । यदि वनलाई दिगो रूपमा व्यवस्थापन गर्न सक्यौं भने समृद्धिका नयाँ सम्भावनाहरू खुल्नेछन् । र यदि वनलाई विकासको केन्द्रमा राख्न सक्यौं भने हरित, समृद्ध र आत्मनिर्भर नेपालको सपना साकार हुन धेरै समय लाग्ने छैन ।वनले कार्बन सोस्छ । माटोलाई क्षयीकरण हुनबाट जोगाउँछ । पानीका मुहानहरूको संरक्षण गर्छ । जैविक विविधतालाई सुरक्षित राख्छ । प्राकृतिक विपद्का जोखिमहरू कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । वातावरणीय सन्तुलन कायम राख्न वनको योगदान अतुलनीय छ । त्यसैले वन संरक्षण केवल कुनै एउटा मन्त्रालय, कार्यालय वा समुदायको जिम्मेवारी मात्र होइन, यो समग्र राष्ट्र निर्माणको आधारभूत विषय हो । राष्ट्रको समृद्धि, नागरिकको जीवनस्तर र भावी पुस्ताको भविष्य वनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
“समृद्धिको लागि वन” अध्ययन अवलोकन भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भनेकै सहभागीहरूको सोचमा आएको सकारात्मक परिवर्तन हो । यो भ्रमणले वनलाई हेर्ने हाम्रो परम्परागत दृष्टिकोणलाई फराकिलो बनाएको छ । विगतमा वनलाई मुख्यतः काठ, दाउरा र घाँसको स्रोतका रूपमा मात्र बुझिन्थ्यो । तर आजको युगमा वनको महत्व त्यो सीमाभन्दा धेरै माथि पुगेको छ । वन अब केवल उत्पादनको स्रोत होइन, यो वातावरणीय सुरक्षाको कवच हो । वन पर्यटनको आधार हो । वन स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो । वन जलवायु परिवर्तनविरुद्धको सबैभन्दा प्रभावकारी प्राकृतिक अस्त्र हो । वन लाखौं मानिसको जीविकोपार्जनको आधार हो । अझ महत्वपूर्ण कुरा, वन भावी पुस्ताका लागि सुरक्षित भविष्यको प्रत्याभूति हो । भ्रमणका क्रममा देखिएका विभिन्न अभ्यासहरूले वन र समृद्धिबीचको सम्बन्धलाई स्पष्ट रूपमा बुझ्न मद्दत गरे । वन संरक्षण र आर्थिक विकास एकअर्काका विरोधी विषय होइनन् भन्ने कुरा व्यवहारिक रूपमा देख्न पाइयो । संरक्षणलाई विकाससँग जोड्न सकिन्छ, वनलाई आयआर्जनसँग जोड्न सकिन्छ र वातावरणीय सन्तुलन कायम राख्दै स्थानीय समुदायको जीवनस्तर सुधार गर्न सकिन्छ भन्ने उदाहरणहरू पश्चिम नेपालका विभिन्न वन क्षेत्रहरूमा प्रत्यक्ष देखिए ।
भ्रमण सकियो । निर्धारित गन्तव्य पूरा भयो । सयौं किलोमिटरको यात्रा समाप्त भयो । तर सिकाइ समाप्त भएको छैन । पश्चिम नेपालको वन, प्रकृति, समुदाय, संस्कृति, संरक्षणका अभ्यास र स्थानीय जनताको समर्पणले मनमा गहिरो छाप छोडेको छ । आज पनि ती हरिया वनहरू, शान्त नदीहरू, विशाल घाँसे मैदानहरू, संरक्षणमा समर्पित समुदायहरू र प्रकृतिप्रतिको सम्मान सम्झँदा मन भावुक हुन्छ । यात्राबाट फर्किएपछि पनि ती दृश्यहरू स्मृतिमा ताजै छन् । कहिले शुक्लाफाँटाका विशाल घाँसे मैदानहरू सम्झिन्छु, कहिले मध्यविन्दु साझेदारी वनका हरिया रुखहरू, कहिले महिला नेतृत्वमा सञ्चालित सामुदायिक वन समूहहरूको संघर्ष र सफलता । ती सबै दृश्यहरूले एउटा साझा सन्देश दिन्छन् नेपालको समृद्धिको वास्तविक आधार प्रकृतिमै रहेको छ ।
आज पनि मनमा एउटा प्रश्न बारम्बार उठ्छ यदि यी वनहरू नहुने हो भने नेपालको भविष्य कस्तो होला? यदि वन विनाश हुँदै गए भने पानीका स्रोतहरूको अवस्था के होला? यदि पानी सुक्यो भने कृषिको भविष्य के होला? यदि कृषि संकटमा पर्यो भने गाउँहरूको अवस्था के होला? यदि गाउँहरू रित्तिँदै गए भने नेपालको सामाजिक र सांस्कृतिक संरचना कस्तो रहला?यी प्रश्नहरूको उत्तर सजिलो छैन । तर एउटा कुरा स्पष्ट छ वनको संरक्षण बिना दिगो समृद्धि सम्भव छैन । हामीले विकासलाई पुनः परिभाषित गर्न आवश्यक छ । विकास भनेको केवल सडक, पुल, भवन र बजार निर्माण गर्नु मात्र होइन । विकास भनेको स्वच्छ हावा पनि हो । सुरक्षित पानी पनि हो । हराभरा वन पनि हुन् । जैविक विविधताको संरक्षण पनि हो । प्राकृतिक स्रोतहरूको दिगो उपयोग पनि हो । सन्तुलित वातावरण पनि हो । समृद्धि भनेको केवल आर्थिक वृद्धिदर होइन, प्रकृतिसँगको सन्तुलित सहअस्तित्व पनि हो ।
पश्चिम नेपालको भ्रमणले यही पाठ सिकाएको छ वनलाई जोगाउनु भनेको भविष्यलाई जोगाउनु हो । वनलाई संरक्षण गर्नु भनेको राष्ट्रलाई संरक्षण गर्नु हो । वनमा लगानी गर्नु भनेको भावी पुस्ताको सुरक्षामा लगानी गर्नु हो ।
आज विश्वभर जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ । हिमालहरू पग्लिरहेका छन् । वर्षाको चक्र परिवर्तन भइरहेको छ। बाढी, पहिरो, डढेलो र खडेरीका घटनाहरू बढिरहेका छन्। यस्ता चुनौतीहरूको सामना गर्न नेपालले वन संरक्षणलाई अझ प्राथमिकतामा राख्नुपर्छ। वन विस्तार, वन व्यवस्थापन र वनमा आधारित हरित अर्थतन्त्रको विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ ।
वन बचे पानी बच्नेछ । पानी बचे खेती बच्नेछ। खेती बचे गाउँ बच्नेछ। गाउँ बचे संस्कृति बच्नेछ। संस्कृति बचे राष्ट्रको पहिचान बच्नेछ। र राष्ट्रको पहिचान बचे मात्र समृद्ध नेपालको सपना साकार हुनेछ ।
यही विश्वास, यही अनुभूति र यही आशासहित “समृद्धिको लागि वन” अध्ययन अवलोकन भ्रमण मेरो जीवनको एउटा अविस्मरणीय अध्याय बनेर रहनेछ । यो केवल एउटा भ्रमण कार्यक्रम थिएन । यो प्रकृतिसँगको आत्मीय संवाद थियो। यो केवल अवलोकन थिएन, यो जीवन र विकासलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर थियो। यो केवल वनको अध्ययन थिएन, यो समृद्ध नेपालको सम्भावना खोज्ने अभियान थियो ।
यस यात्राले सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ यही हो, नेपालको भविष्य कंक्रिटका जंगलहरूमा होइन, हरिया वनहरूको संरक्षणमा सुरक्षित छ । समृद्धिको वास्तविक बाटो प्रकृतिसँगको सहकार्यबाट मात्र सम्भव छ । र अन्ततः नेपालको समृद्धिको यात्रा हरिया वनहरूको छहारी हुँदै नै अघि बढ्नेछ । हाम्रो टोलि डिभिजनल वन अधिकृत सुजित कुमार झाको नेतृत्वमा डिभिजन वन कार्यालयको आयोजनामा गएका थिए ।
यात्राको कोडेनेटर रेन्जर निरज पोखरेलले गरेका थिए । तामागढी सव डिभिजन वन कार्यालयका प्रुमुख राजकिशोर उपाध्याय र रतनपुर सव डिभिजनका अधिकृत बादल लम्साललगायतका रहेको थिए । त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ बाराका उपाध्यक्ष बाँशुदेव तिमल्सिना र सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगरका उपाध्यक्ष तथा पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धन बहादुर खुलाल रहेका थिए । त्यस्तैगरी सामुदायिक वन उपभोक्ता समुहहरुको तर्फबाट बकैया नागमणी सामुदायिक वनका अध्यक्ष शालिकराम ढुंगाना, धारापानी सामुदायिक वनका अध्यक्ष उमेश घलान, जनशक्ती सामुदायिक वनका अध्यक्ष शेखर लामा, प्रतिनिधि, जनशृजनशिल सामुदायिक वनका प्रतिनीधीहरु र डिभिजन वन कार्यालय अन्तर्गतका सम्पुर्ण कर्मचारीहरु लगायतले भ्रमण तथा अध्ययन गरेका थिए ।
लेखक : उमेश घलान संचारकर्मी ।



















Discussion about this post