सिमरा । डिभिजन वन कार्यालय, बाराको आयोजनामा वन्यजन्तु अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गोष्ठी सिमरामा सम्पन्न भएको छ ।
वन्यजन्तु तथा वन स्रोतको संरक्षण, वन्यजन्तु अपराध न्यूनीकरण र मानव तथा वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई कम गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, (सामुदायिक चोरी–सिकारी नियन्त्रण इकाई) का संयोजक, सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वन्यजन्तुको अवैध सिकार, चोरी–निकासी तथा वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार रोक्न समुदायको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल गरिएको थियो । साथै मानव–वन्यजन्तु द्वन्द्वका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी, वन्यजन्तु देखिएमा अपनाउनुपर्ने व्यवहार तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो ।
प्रशिक्षकहरूले वन्यजन्तु संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदायको साझा दायित्व भएको उल्लेख गर्दै संरक्षणका प्रयासमा स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जानकारी दिएका थिए । पछिल्लो समय हात्ती, बाघ, चितुवा लगायतका वन्यजन्तुसँगको द्वन्द्व बढ्दै गएको सन्दर्भमा यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास सहभागीहरुले व्यक्त गरिएका थिए ।
कार्यक्रम तराई भु-परिधि तथा संरक्षण कार्यक्रम (TALCP) को सहयोगमा सञ्चालन गरिएको थियो । आयोजक डिभिजन वन कार्यालय, बाराले यस्ता कार्यक्रमले वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि हुनुका साथै वन्यजन्तु अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।
कार्यक्रममा वन अधिकृत बादल लम्साल, वर्षा लामा, संजय चौधरी र रेन्जर निरज पोखरेलले स्लाईट मार्फत वन र वन्यजन्तु र कानुनी सम्वन्धी प्रशिक्षण दिएका थिए । डिभिजन वन कार्यालय वारा सिमराको डिभिजनल वन अधिकृत सुजित कुमार झा मुख्य सहभागीमा भएको थियो ।





















Discussion about this post