निजगढ–४ कछडिया टोलमा परम्परागत कुलपूजा सुरु,  महावीर पूजासँगै समापन हुने

397
SHARES
523
VIEWS

निजगढ । निजगढ नगरपालिका–४ कछडिया टोलमा यस वर्षको परम्परागत कुलपूजा आज बैशाख २ गतेबाट सुरु भएको छ । ब्राह्मणस्थान मन्दिर समितीले गत चैत २२ गते बसेको बैठकबाट कुलपूजा मनाउने निर्णय गरेको थियो ।

समितिका अनुसार पुरानो निजगढस्थित ब्रम्हथान मन्दिर परिसरमा भोलि वैशाख ३ गते महावीर हनुमानको पूजा गरी कुलपूजा विधिवत् रूपमा समापन गरिनेछ ।

प्राचीन कालदेखि निरन्तर रूपमा मनाउँदै आइएको यस कुलपूजाले स्थानीय धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै आएको विश्वास गरिएको छ । विशेषगरी चौधरी तथा थारु समुदायको मुख्य धार्मिक परम्पराका रूपमा स्थापित यस पूजाले समयसँगै सम्पूर्ण टोलवासीलाई एकताबद्ध बनाउने साझा पर्वको रूप लिएको छ ।

कुलपूजाका अवसरमा आ–आफ्नो कुलदेवताको स्मरण गर्दै विधिपूर्वक पूजा–अर्चना गरिएको छ । यस क्रममा परम्परागत भाकल, बलि (कतिपय स्थानमा प्रतीकात्मक), प्रसाद वितरण तथा सामूहिक पूजा विधि आज सम्पन्न भइसकेको आयोजकले जनाएको छ । बलि पूजा सम्पन्न भएको भोलिपल्ट महावीरलाई लड्डु चढाएर कुलपूजाको अन्तिम विधि सम्पन्न गरिने मुख्य पुजारी खेलाउन धामीले जानकारी दिए ।
समितिका अध्यक्ष सुरेश कुमारका अनुसार पूजामा सहभागीहरूले आफ्नो कुल, परम्परा र पूर्वजप्रति श्रद्धा अर्पण गर्नुका साथै आगामी दिनहरू सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार कुलपूजा केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता र सांस्कृतिक संरक्षणको महत्वपूर्ण माध्यमका रूपमा स्थापित छ । यसले पुस्तौँदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्नुका साथै समुदायबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित