राक्सिराङ र मनहरी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

385
SHARES
506
VIEWS

मकवानपुर । राक्सिराङ गाउँपालिकाले ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालनमा ल्याएको छ । २०८३ साल वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता घटनाहरू समयमै दर्ता गर्न स्थानीय तहले आग्रह गरेको हो ।

गाउँपालिकाका अनुसार कानुनी पहिचान सुनिश्चित गर्न र राज्यबाट प्रवाह हुने सेवा–सुविधा प्राप्त गर्न व्यक्तिगत घटना दर्ता अनिवार्य मानिन्छ । तर, अझै पनि कतिपय नागरिकले समयमै दर्ता नगर्ने प्रवृत्ति देखिएकाले अभियान सञ्चालन गरिएको जनाएको छ ।
“घटना भएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गराउनुहोस्,” गाउँपालिकाले जारी सूचनामा भनेको छ ।

अभियान अवधिमा वडास्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र छुटेका घटनाहरू दर्ता गराउन विशेष जोड दिइने जनाइएको छ । स्थानीय तहले नागरिकलाई सहज रूपमा सेवा दिन आवश्यक सहजीकरणसमेत गर्ने जनाएको छ ।

त्यस्तैगरी, मनहरी गाउँपालिकाले पनि व्यक्तिगत घटना दर्ता सप्ताहसम्बन्धी सूचना जारी गर्दै सबै नागरिकलाई समयमै दर्ता गर्न आग्रह गरेको छ । गाउँपालिकाका अनुसार जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू घटना भएको ३५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

मनहरी गाउँपालिकाले व्यक्तिगत घटना दर्ता नगरेमा विभिन्न सेवा–सुविधा लिन समस्या हुने जनाएको छ । बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता तथा राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न लगायत राज्यबाट प्राप्त हुने सेवाहरूका लागि घटना दर्ता आवश्यक पर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकाले सबै नागरिकलाई समयमै व्यक्तिगत घटना दर्ता गरी आफ्नो अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित