नेराआविमा उत्साहपूर्ण सम्मान कार्यक्रम, विद्यार्थी र शिक्षक दुवैको मेहनतको कदर

419
SHARES
551
VIEWS

भक्तलाल । बाराको निजगढ-१२ बुङ्गजोरमा एक किसिमको छुट्टै रौनक देखिएको छ । शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको उक्त श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले यस वर्षको वार्षिक परीक्षामा सफल विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार वितरण गरेको हो । कार्यक्रमले विद्यालय परिसरलाई उत्साह, गर्व र प्रेरणाले भरिएको वातावरणमा परिणत गराएको थियो ।

विद्यालयले केवल शैक्षिक उपलब्धिलाई मात्र होइन, विद्यार्थीको अनुशासन, सरसफाइप्रतिको सचेतना र नियमित उपस्थितिलाई समेत समान रूपमा महत्व दिँदै चार फरक विधामा सम्मान गरेको जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, नियमित रूपमा विद्यालय आउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र अनुशासित व्यवहार प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसले विद्यार्थीमा केवल पढाइमा मात्र होइन, व्यवहारिक जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने उद्देश्य झल्काएको देखिन्छ ।

कार्यक्रमको अर्को विशेष पक्ष भनेको शिक्षक/शिक्षिका तथा अभिभावकप्रतिको सम्मान थियो । विद्यालयले विद्यार्थीको सफलतामा उनीहरुको महत्वपूर्ण योगदान रहेको स्वीकार गर्दै उनीहरुलाई समेत सम्मानित गरेको हो । अझ विशेष गरी नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा दोस्रो स्थान हासिल गर्न सफल भएकोमा विद्यालयका शिक्षक/शिक्षिकालाई विशेष कदर गरिएको थियो, जसले विद्यालयको शैक्षिक उन्नतिमा उनीहरुको भूमिका स्पष्ट पार्छ ।

विद्यालयका प्रधानाध्यापक सियाराम कुमारले कार्यक्रममा बोल्दै विद्यालयले प्राप्त गरेको उपलब्धि सबै शिक्षक/शिक्षिका, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरे । उनले भने, “हाम्रा शिक्षक/शिक्षिकाको लगन, मेहनत र समर्पणका कारण नै आज हामीले यस्तो उपलब्धि हासिल गर्न सकेका हौं । आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।”

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा सदस्य शम्फु थोकर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर लामा लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले विद्यार्थीमा प्रेरणा थप्ने र शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समापनतर्फ विद्यालयले आगामी दिनमा पनि यस्ता प्रेरणादायी तथा प्रोत्साहनमूलक गतिविधिहरु सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यालयले शिक्षा केवल किताबी ज्ञानमा सीमित नराखी अनुशासन, संस्कार र सामाजिक जिम्मेवारीसँग जोडेर अघि बढाउने स्पष्ट संकेत दिएको देखिन्छ ।

विद्यालयले सो अवसरमा विद्यारथीहरु छात्रवृत्ति समेत वितरण गरेका छ ।  यस प्रकारका कार्यक्रमहरुले ग्रामीण तथा स्थानीय स्तरका विद्यालयहरुमा समेत गुणस्तरीय शिक्षा र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित