तपोभुमि सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा सम्पन्न

411
SHARES
541
VIEWS

बारा, निजगढ  । तपोभुमि सामुदायिक वन उपभोक्ता समूह, निजगढ नगरपालिका–११ (रतनपुर) को १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष तुलसी राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा काशीराज राउत, संतोष चौधरीलगायतका उपस्थिती रहेका थिए । वक्तहरुमा वडा अध्यक्ष सहईया गुरो, पुर्व अध्यक्ष प्रेम रुम्बा र उपभोक्ताको तर्फबाट दमाईसिं थोकरले सामुदायिक वनको महत्त्वको बारेमा भनाइ राखेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरोले वन संरक्षणमा स्थानीय उपभोक्ताको सक्रियता अत्यन्त आवश्यक रहेको बताएका छन् । उनले वन संरक्षण केवल सरकारी निकाय कार्यसमितिको जिम्मेवारी मात्र नभई स्थानीय समुदायको साझा दायित्व भएको उल्लेख गर्दै, “उपभोक्ताहरू आफै सचेत र सक्रिय भए मात्र वनलाई दीगो रूपमा जोगाउन सकिन्छ,” अध्यक्षले भने ।

उनले वातावरणीय असन्तुलनलाई रोक्न सामुदायिक सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे । साथै, उनले वन संरक्षणका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तहले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत जनाए । गुरोले वन क्षेत्रलाई आयआर्जनसँग जोडेर व्यवस्थापन गर्न सके स्थानीयको जीवनस्तर उकास्न समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, सामुदायिक वन पुर्व अध्यक्ष तथा संस्थापक अध्यक्ष प्रेम रुम्बाले वन संरक्षणलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायहरू गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । उनले समितिको खर्च तथा लगानी गरेर कटान गरेको काठ कुहिएर नष्ट हुने अवस्थालाई नियन्त्रण गर्न वन कार्यालय र सब-डिभिजन वन कार्यालयले सक्रिय र कडाइका साथ अनुगमन गर्नुपर्ने बताए । “वन हाम्रो साझा सम्पत्ति हो, यसलाई जोगाउन सबै पक्षको सहकार्य जरुरी छ,” उनले भने ।

रुम्बाले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपयोगमा स्थानीय उपभोक्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै, उपभोक्ताहरूलाई जिम्मेवार र सचेत भएर वनको दिगो उपयोग गर्न आग्रह गरे । उनले वनबाट प्राप्त स्रोत–साधनलाई योजनाबद्ध रूपमा प्रयोग गरी समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउन सकिने बताए ।
साधारण सभामा वन संरक्षण, व्यवस्थापन, उपभोक्ताको सक्रिय सहभागिता, पारदर्शिता तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले वन क्षेत्रको संरक्षणसँगै दिगो विकासका लागि नयाँ रणनीति अपनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रमले सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण र उपयोगमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरिएको छ । साथै, यस्ता कार्यक्रमहरूले स्थानीय समुदायलाई वन संरक्षणप्रति थप जिम्मेवार र जागरूक बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको संचालन भने समितिका सचीव विरमान थिङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित