बारा, निजगढ । निजगढ नगरपालिका वडा नं. २ कार्यालयले अतिविपन्न तथा असहाय परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सूचना जारी गरेको छ ।
वडा कार्यालयका अनुसार आर्थिक अभावका कारण औषधि उपचार गर्न नसकी अस्पतालबाट समेत फर्किनु परेको गुनासो प्राप्त भएपछि यस्तो कार्यक्रम अघि बढाइएको हो । यस कार्यक्रममार्फत वडा भित्र रहेका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइ स्वास्थ्य सेवा पहुँच सहज बनाउने उद्देश्य रहेको जनाइएको छ ।
यसका लागि लक्षित वर्गका सेवाग्राहीहरूले नागरिकता प्रमाणपत्र तथा आवश्यक कागजातसहित तोकिएको मितिभित्र वडा कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।
सूचना अनुसार आगामी २०८२ माघ १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
वडा अध्यक्ष राजन श्रेष्ठले यस कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सबै योग्य सेवाग्राहीलाई समयमै निवेदन दिन आग्रह समेत गरेका छन् ।


















Discussion about this post