बारा, निजगढ । निजगढ नगरपालिका वडा नं. ११ रतनपुर स्थित श्री जनमुखी सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा समूहका अध्यक्ष सुरेशराम गुरोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा निजगढ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सहईया गुरो उपस्थित रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य किशोरीदेवि गुरोले व्यक्त गरेकी थिइन् ।
त्यसैगरी अतिथिहरूमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) निजगढ नगरका उपाध्यक्ष धनबहादुर खुलाल, तपोभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी राउत र सब–डिभिजन वन कार्यालय रतनपुरका प्रमुख कपिलदेव प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फेकोफन उपाध्यक्ष धनबहादुर खुलाल, तुलसी राउत र कपिलदेव प्रसाद यादवले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहईया गुरोले समुदाय आफैले संरक्षण गरेर आफैले उपभोग गर्ने एक मात्र संस्था सामुदायिक वन भएको बताए । उत्पादन गर्ने समुदायले नै त्यसको लाभ लिन पाउनुपर्ने उल्लेख गर्दै उनले सामुदायिक वनले उत्पादन गरेको पैदावरको मूल्य सरकारले तोक्ने वर्तमान नीति नियम संशोधन गर्न आवश्यक रहेको औंल्याए । वन कार्यालय तथा वन मन्त्रालयलाई समुदायमैत्री नीति बनाउन उनले अनुरोध समेत गरेका थिए ।
कार्यक्रमकै अवसरमा संस्थापक अध्यक्ष ओमप्रकाश कुमारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी साधारण सभाले सह–सचिव किशोरीदेवि गुरोलाई सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा उपभोक्ता, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


















Discussion about this post