काठमाडौँलाई अपाङ्गतामैत्री बनाउने कार्य उच्च प्राथमिकतामा : समिक्षा निरौला

401
SHARES
528
VIEWS

अनिश चौधरी/काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रशासनिक सेवा, सञ्चार प्रणाली र भौतिक पूर्वाधारलाई पूर्ण रूपमा समावेशी र अपाङ्गतामैत्री बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको जनाएको छ । महानगरको सामाजिक विकास विभागकी प्रमुख समिक्षा निरौलाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै सेवा प्रवाहलाई पहुँचयुक्त बनाउने दिशामा बजेट तथा कार्यक्रम केन्द्रित गरिएको बताइन् ।

नेत्रहीन युवा संघ नेपाल उपत्यका शाखाले काठमाडौँमा आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले महानगरले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणलाई नीति तथा कार्यक्रममा समेट्दै स्रोत व्यवस्थापन गरिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी बहिरा व्यक्तिहरूले अस्पताल, अदालत तथा आपतकालीन अवस्थामा दोभासे अभाव हुँदा सेवा लिन कठिनाइ हुने समस्या उठाएका थिए ।

त्यसबारे निरौलाले आवश्यकता परेका बेला तुरुन्त उपलब्ध हुने गरी ‘बोलाउनासाथ पाइने’ दोभासे सेवा सञ्चालनका लागि कार्यविधि तयार पारिने र बजेट विनियोजन गरिने बताइन् ।

दृष्टिविहीन सहभागीहरूले सडकका अवरोध, असुरक्षित फुटपाथ तथा परीक्षाका बेला लेखन सहयोगी व्यवस्थापनमा देखिने झन्झटबारे ध्यानाकर्षण गराएका थिए । निरौलाले फुटपाथ व्यवस्थापन गरी सडकलाई सेतो छडीमैत्री बनाउने, जेब्रा क्रसिङमा ध्वनि संकेत जडान गर्ने र लेखन सहयोगीको प्रमाणीकरण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने जानकारी दिइन् ।
रोजगारी अभावसम्बन्धी साझा गुनासोबारे उनले सीपमूलक तालिमलाई कार्यस्थलमै आधारित बनाउँदै प्रत्यक्ष रोजगारीसँग जोड्ने कार्ययोजना तयार गरिएको स्पष्ट पारिन् । “अब तालिम कोठाभित्र सीमित हुँदैन, कार्यस्थलमै सीप सिकाउने र रोजगारी सुनिश्चित गर्ने गरी कार्यक्रम अघि बढाइन्छ,” उनले भनिन् ।
निरौलाले आगामी आर्थिक वर्षको बजेटमा वास्तविक आवश्यकताहरू समावेश गर्न वैशाख मसान्तभित्र टोल तथा वडा तहबाट योजना छनोट गरी जेठ १० गतेभित्र प्रस्ताव पेस गर्न आग्रह गरिन् । साना तर प्रभावकारी सुधारमार्फत काठमाडौँलाई सबैका लागि पहुँचयुक्त सहर बनाउने प्रतिबद्धता उनले व्यक्त गेरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित