मुना न्यौपाने/काठमाडौँ । शङ्खरापुर नगरपालिका–५ इटाखेलस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर परिसरमा शुक्रबार एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
स्वस्तिक अस्पताल, सातदोबाटो, ओम कायाकल्प वेलनेस सेन्टर, न्यूलाइफ आयुर्वेद प्रा.लि. गोंगबु, महिला वातावरण समूह, सामुदायिक सेवा समाज, सामुदायिक प्रहरी सेवा केन्द्र साँखु तथा इटाखेल टोल विकास समितिको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा एलोपेथी, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा मनोपरामर्श सेवा प्रदान गरिएको थियो । दुई सयभन्दा बढी सेवाग्राहीले रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच गराउनुका साथै आवश्यक औषधि निःशुल्क प्राप्त गरेको आयोजकले जनाएको छ ।
स्वस्तिक अस्पतालका प्रबन्ध निर्देशक लक्ष्मीनारायण सुवालसहित नौ जना चिकित्सक तथा प्राविधिकको टोलीले एलोपेथी उपचार सेवा दिएको थियो । साथै कायाकल्प वेलनेस सेन्टरका अध्यक्ष शैलेन्द्र शर्मा, उपाध्यक्ष डा. आइन्टाइन लघुन, मनोविद् बासु आचार्यलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन रेणु खरेलले गर्नुभएको थियो । समापन कार्यक्रममा श्री पञ्चमहालक्ष्मी मन्दिर श्रीपीठका उत्तराधिकारी स्वामी श्रीवासुदेव प्रपन्नाचार्य तथा श्री मुक्तिनाथ संस्कृत गुरुकुलम् वेदपाठशालाका श्री दामोदर गुरुले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त मन्दिर परिसरमा हाल श्री मुक्तिनाथ बाबा अस्पताल (स्वास्थ्य सेवाश्रम) निर्माणाधीन रहेको छ ।























Discussion about this post