निजगढ, बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेस प्रदेश अध्यक्ष भरत गिरीले मुलुकमा लोकतन्त्र र गणतन्त्रजस्ता विभिन्न राजनीतिक व्यवस्था आए पनि देश र जनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।
निजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई स्पष्ट राजनीतिक, आर्थिक र राष्ट्रिय निकास दिने परिवर्तनको एकमात्र सम्भावक शक्ति राप्रपा पार्टी रहेको दाबी गरे । प्रमुख अतिथीको रुपमा सहभागी भएका अध्यक्ष गिरीले राष्ट्रियता, प्रजातन्त्र र उदारवाद राप्रपाको मूल वैचारिक आधार भएको उल्लेख गर्दै यिनै मूल्य र मान्यतामार्फत देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सकिने बताए ।
उनले पछिल्ला वर्षहरूमा शासन व्यवस्था परिवर्तन भए पनि भ्रष्टाचार, बेरोजगारी, अस्थिर राजनीति र राष्ट्रिय स्वाभिमान कमजोर बन्दै गएको आरोप लगाए । “व्यवस्था फेरिए, तर अवस्था फेरिएन,” भन्दै उनले जनताको भरोसा जित्ने राजनीति आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा उनले पार्टी संगठनलाई स्थानीय तहदेखि मजबुत बनाउँदै जनताको समस्या र आवाजलाई सडकदेखि संसदसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आगामी दिनमा हुने अधिवेशनमार्फत पार्टीलाई नयाँ उर्जा र नेतृत्व प्रदान गरिने विश्वास व्यक्त गरे ।
यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिको आयोजनामा चौथो निजगढ नगर अधिवेशन भैरहेको छ । निजगढ–८ स्थित वैक्यूट सभाहलमा आयोजना गरिएको सो भेलाले नगर कमिटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने छ ।
अधिवेशनले नयाँ नगर कार्य समिति चयन गर्नुका साथै पार्टीको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।






















Discussion about this post