गरुडा–२ मा ग्रामीण सडक विस्तार, किसानको दीर्घकालीन समस्या समाधान

389
SHARES
512
VIEWS

प्रमोद सहनी/रौतहट । रौतहटको गरुडा नगरपालिका–२ मा करिब १८ फिट चौडाइको ग्रामीण सडक विस्तार गरिएको छ ।

गेडही गुठी क्षेत्रमा गम्भीर साहको खेतदेखि पूर्व भन्टु रायको खेतसम्म तथा महेन्द्र रायको खेतदेखि राजेन्द्र रायको खेत हुँदै माईधिया विशुनपुरबा जाने पोखरासम्म पुग्ने सडक विस्तारसँगै स्थानीय कृषकहरूको कृषि गतिविधि सहज बनेको छ ।

वर्षौंदेखि साँघुरो र अव्यवस्थित बाटोका कारण कृषि यान्त्रिक साधन सञ्चालन, मल–बीउ तथा उत्पादन ओसारपसारमा समस्या हुँदै आएको थियो । बाटो अभावकै कारण उत्पादन लागत बढ्ने र समयमै खेती गर्न नसकिने अवस्था थियो ।

वडा कार्यालयका अनुसार उक्त समस्या समाधानका लागि वडा अध्यक्ष कृष्णनन्दन सहनीको नेतृत्वमा स्थानीय जनसहभागिता र सहमतिका आधारमा सडक विस्तार गरिएको हो । बाटो खोल्ने क्रममा किसान, भद्रभलाद्मी तथा सरोकारवालाबीच छलफल गरी सहमति जुटाइएको जनाइएको छ ।

स्थानीय कृषक गम्भीर साहले सडक विस्तारपछि खेतसम्म ट्र्याक्टर पुग्न थालेको बताए । “पहिले साँघुरो बाटोका कारण खेती गर्न कठिन थियो,” उनले भने, “अब मल–बीउ ढुवानी र जोत्न–रोप्न सहज भएको छ ।”
अर्का कृषक रामविनय रायका अनुसार सडक विस्तारले उत्पादन लागत घटाउने र कृषि पेशाप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । उनका अनुसार यसले युवा पुस्तालाई पनि खेतीतर्फ फर्काउन मद्दत गर्नेछ ।
स्थानीय बासिन्दाका अनुसार वडा अध्यक्ष सहनीले कृषि र जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका छन् । सडक विस्तारपछि वर्षायाममा समेत खेतसम्म पुग्न सहज हुने, कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन सजिलो हुने र आपतकालीन आवतजावतमा सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
गरुडा नगरपालिका–२ मा सम्पन्न यो ग्रामीण सडक विस्तार कार्यलाई स्थानीय आवश्यकता पहिचान गरी जनसहभागितामार्फत गरिएको प्रभावकारी विकासको उदाहरणका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित