वनदेवी सामुदायिक वनमा नयाँ नेतृत्व : जिम्मेवारीसँगै अपेक्षा र चुनौती पनि

391
SHARES
514
VIEWS

निजगढ । निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलवार नयाँ नेतृत्व चयन गर्दै प्रह्लाद लामिछानेलाई सर्वसम्मत अध्यक्ष बनायो । नेतृत्व चयनको प्रक्रिया सहज र एकमत देखिए पनि आगामी दिनमा नयाँ समितिका लागि जिम्मेवारी र चुनौती दुवै बढ्ने संकेत स्थानीयले गरेका छन् ।

सर्वसम्मत रूपमा गठन भएको ११ सदस्यीय समितिमा उपाध्यक्ष विकास श्रेष्ठ, सचिव लक्ष्मी आचार्य, कोषाध्यक्ष छलिमाया थिङसहित महिलाको उल्लेख्य सहभागिता देखिएको छ । सदस्यहरूमा प्रनिशा राउत, मीना थापा, मेनुका सापकोटा, सुमित्रा दमाईजस्ता महिला उपभोक्ताको उपस्थिति समुदायमा महिला नेतृत्वको भूमिकालाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

वन समूहको सल्लाहकार उपसमितिमा वडाध्यक्ष राजन श्रेष्ठ संयोजक रहेका छन् । लेखा उपसमितिभित्र पनि व्यवस्थित संरचना बनाइएको छ, जसले वित्तीय पारदर्शिताका सवालमा नयाँ समितिको दक्षता परीक्षण गर्नेछ । आर्थिक व्यवस्थापन, वन पैदावरको न्यायोचित वितरण र सुरक्षा चुनौतीहरू समितिको प्राथमिकता बन्ने स्थानीयको धारणा छ ।

शपथग्रहण गराउँदै सामुदायिक वन महासङ्घ बाराका अध्यक्ष रामजी बजगाईंले वन क्षेत्रको संरक्षण र सुशासनमा समितिले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका थिए । निजगढ सबडिभिजन वन कार्यालय भमराकी वन अधिकृत शर्मिला नेपालले कानुनको पूर्ण पालना तथा सामुदायिक वनको परिसंपत्ति व्यवस्थापनमा समितिको सक्रियता अपेक्षित रहेको उल्लेख गरिन् ।

तर स्थानीयहरू भने वन अतिक्रमण, अवैध बालुवा/ढुङ्गा निकासी, चरन क्षेत्र संरक्षण तथा दिगो वन व्यवस्थापनसम्बन्धी चुनौती नयाँ नेतृत्वका लागि ‘पहिलो परीक्षण’ हुने बताइरहेका छन् । विगतमा केही निर्णयमा पारदर्शिताको अभावबारे आलोचना उठेकोले यसपटक समितिले खुला र उत्तरदायी ढङ्गले काम गर्नुपर्ने दबाब पनि छ ।

कार्यक्रम वन समूहका अध्यक्ष सिध्दी बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न भए पनि सहभागीहरूले सामुदायिक वनलाई आय–आर्जनको स्रोतका रूपमा मात्र होइन, स्थानीय वातावरणीय सुरक्षा संरचना भनेर बुझ्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ नेतृत्वले उपभोक्ताको विश्वास जोगाउँदै वन संरक्षण र व्यवस्थापनमा ठोस काम के गर्छ अब सबैको नजर त्यहीँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित