निजगढ (बारा) । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. निजगढको २५औं वार्षिक साधारण सभा रजत वर्षको अवसरमा सम्पन्न भएको छ । सभाले रुद्र धितालको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नव–निर्वाचित समितिमा उपाध्यक्षमा हरि मैया उपाध्याय, सचिवमा भुषण अधिकारी र कोषाध्यक्षमा सुदिप तिमल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सिता रिसाल, वालकृष्ण श्रेष्ठ, महेश्वर अधिकारी, मञ्जु कार्की र गोकर्ण पौडेल चयन भएका छन् । सभाले लेखा सुपरिवेक्षण समितिमा राजु गौतम संयोजक रहने गरी दिनबन्धु साह र निलम सत्पाल लामीछानेलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।
रजत वर्षको उपलक्ष्यमा सहकारीले चारदिने विविध कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो दिन विद्यार्थीहरूबीच वक्तृत्वकला, हाजिरीजवाफ र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । ती आयोजमा तीनै विधामा विद्यासागर इङ्लिश बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पारेको थियो ।
दोस्रो दिन आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ४ सय ५८ जनाको आँखा परीक्षण गरिएको थियो । हिमाल आँखा अस्पताल विराटनगर र कोशी आँखा अस्पताल सुनसरीले प्राविधिक सहयोग गरेको शिविरमा ९० जनामा मोतिविन्दुको समस्या पाइएको थियो ।
तेस्रो दिन रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । वीरगन्जस्थित रक्तसञ्चार केन्द्र पर्साको प्राविधिक सहयोगमा १२ महिलासहित ६३ जनाले रक्तदान गरेका थिए ।
चौथो दिन सम्पन्न साधारण सभासँगै संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट कर्मचारी, सक्रिय सहकारी सदस्य र स्थानीय योगदानकर्तालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरूलाई चाँदीको सिक्का र सम्मानपत्र प्रदान गरिएको थियो ।
अध्यक्ष धितालले सहकारीले आर्थिक सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वमा पनि निरन्तर योगदान गर्दै आएको बताउँदै रजत वर्षका अवसरमा सहकारीको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए । साधारणसभा संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको थियो । जेष्ठ नागरिकले मैन बत्ती जलाएर कार्यक्रमको सुरुवात गरेको थियो । साधारणसभाले उत्कृष्ट ॠणी, उत्कृष्ट बचत कर्तालगायत्लाई सम्मान गरेको थियो ।






















Discussion about this post