निजगढ (बारा) । निजगढ नगरपालिका–१३ स्थित डम्बरपुरको शिव शक्तेश्वर महादेव मन्दिरमा आज हरिबोधिनी एकादशीको अवसरमा मेला लागेको भए पनि वर्षाले यस वर्षको मेला आंशिक रूपमा प्रभावित बनायो । फ्याफुल्ला युवा क्लब डम्बरपुरले हरेक वर्ष जस्तै यस वर्ष पनि मेलाको आयोजना गरेको थियो । तर, (मोथा चक्रवात) नामक परेका अविरल वर्षाका कारण यस वर्षको मेला विगतका वर्षभन्दा कम उल्लासमय बनेको सबैको अनुभुती रहेको छ ।

मन्दिर परिसर जोड्ने खोलामा आएको बाढीले मेलाको तयारी र सञ्चालनमा असर पारेको हो । वर्षाले खोला बढेपछि मन्दिर तथा गुफातर्फ पुग्न कठिनाइ भए पनि, व्रतालु भक्तजनहरू पनि भक्तिभावले अविचलित भएर त्यहाँ पुगे । अध्यक्ष प्रताप घलानका अनुसार, सरसफाइदेखि समग्र तयारी सबै पूरा भए पनि प्रकृतिक बाढीका कारण केही गतिविधिमा अवरुद्ध भएका थिए ।
बाढीको जोखिमका बाबजुद, ड्याम छेउका स्थानीय व्यवसायीले अस्थायी स्टल राखेर भेटघाट, मनोरञ्जन र व्यापारका गतिविधिहरूलाई निरन्तरता दिन खोजेका थिए । गाउँले युवाहरूले खेलकुद, खानेकुरा र मनोरञ्जनका थुप्रै स्टलहरू राखे पनि गुफा क्षेत्रमा तोरण र सजावट टाँग्ने काम भने रोकिएको थियो ।
ब्रतालु भक्तजनलाई प्राकृतिक चुनौतीको बीचमा पनि श्रद्धाभाव घटेन । पानी पर्ने क्रमसंगै कठिनाइ थेग्दै श्रद्धालुहरू महादेवको मन्दिरमा जल चढाउन पुगे । कतिले दूधको अभिषेक पनि गरे । चिप्लो बाटो र उफ्रिंदो खोलाको बीचमा आस्थाका पाइला अघि बढेका थिए । यसले डम्बरपुरको धार्मिक धरोहरलाई अझ गहिरो बनाएको छ ।
कहिलेकाहीँ प्रकृतिले अवरोध पुर्याउँछ, तर आस्थाले बाटो बनाइदिन्छ भन्ने आजको दृश्य डम्बरपुरले फेरि पुष्टि गरेका थिए ।






















Discussion about this post