बारा । सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि जितपुरसिमरा उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिकाले ती ठेकेदारहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो ।
पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अभयकान्त झाका अनुसार पटक–पटक सूचना दिएर पनि ठेकेदारहरूले तोकिएको समयसीमाभित्र काम अगाडि नबढाएपछि कानूनी प्रावधानअनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।
उनका अनुसार तोकिएको म्यादभित्र पनि काम सुरु नगरेमा सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुसार जरिवाना, धरौटी जफत लगायतका कडा कदम चालिने चेतावनी दिइएको छ ।
कारबाहीको दायरामा पर्ने कम्पनीहरूमा डि एण्ड डि कन्ट्रक्शन (बारा), श्रीबजरंग कन्ट्रक्शन (बारा), एन के कन्ट्रक्शन (पर्सा), धिरज निर्माण सेवा (रौतहट), जैसवाल निर्माण सेवा (पर्सा), मकवानपुर कन्ट्रक्शन (हेटौंडा) र जयशम्भु भोलेनाथ कन्ट्रक्शन (मकवानपुर) रहेका छन् ।
उपमहानगरपालिकाले आगामी दिनमा पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरूको विवरण सार्वजनिक गरी आवश्यक कानूनी कारबाही निरन्तर गर्ने जनाएको छ ।






















Discussion about this post