चक्रवात ‘मोन्था’को प्रभाव : निजगढ नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

382
SHARES
503
VIEWS

बारा । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावले देशभर वर्षा भइरहेको अवस्थामा निजगढ नगरपालिकाले नगरवासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको भन्दै नगरवासी र वडा कार्यालयहरूलाई सतर्क रहन अनुरोध गरेको हो ।

सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, र मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय उद्धृत गर्दै कार्तिक मसान्तसम्म नदीहरूमा आकस्मिक वहावको उच्च जोखिम रहने उल्लेख गरिएको छ ।

नगरपालिकाले नगरवासीहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न, डुबान हुन सक्ने बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिचान गर्न, र नदी किनारका बासिन्दालाई सतर्क रहनुका साथै आवश्यक परे सुरक्षित ठाउँमा सारिनुका लागि आग्रह गरेको छ ।

त्यसैगरी, नगरपालिकाले बाढी, डुबान वा अन्य विपद् सम्भावना भएका क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक परे स्थानीय विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाराको लालबकैया नदीसहित पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका नदीहरूमा ठूलो बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

नगरपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई आवश्यक तयारी गर्न, सूचना तथा सहयोगका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूसँग निरन्तर समन्वयमा रहन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित