कोल्हवी । रेडियोको संसारमा सात वर्ष कुनै लामो समय नभए पनि एक सामुदायिक रेडियोका लागि यो यात्राले अनेकौं उतार-चढाव, संघर्ष र सफलताको कथा बोकेको हुन्छ । बारा जिल्लाको कोल्हवी नगरबाट प्रसारण हुने रेडियो कोल्हवी अहिले त्यही यात्राको सातौँ वर्षमा प्रवेश गरेको छ । जिम्मेवारी र प्रतिबद्धताको नयाँ अध्यायसहित रेडियो छैठो वर्ष पूरागरि सातौं वर्षमा प्रवेश गरेको हो ।
२०७६ साल असोज ३० गते परीक्षण प्रसारण सुरु गरेको रेडियो कोल्हवीले त्यसै वर्ष कार्तिक १३ गते तत्कालीन सांसद अच्युत मैनालीबाट औपचारिक उद्घाटन पाएको थियो । त्यतिबेला सानो टिम, सानो उपकरण र ठूला सपना बोकेर सुरु गरिएको रेडियो आज कोल्हवी र आसपासका गाउँ–बस्तीको स्वर बनेको छ ।
स्थानीय समाचार, कला, संस्कृति, धर्म र समाजका सवालमा आवाज उठाउँदै आएको यस रेडियोले वर्षौँदेखि समुदायको माया र विश्वास जितेको छ । “हाम्रो लक्ष्य मनोरञ्जन मात्र होइन, सचेतना फैलाउनु पनि हो,” रेडियोका सञ्चालक अनिल प्रित चौधरी भन्छन् ।
व्यवस्थापक ज्ञानु चौधरी, स्टेशन म्यानेजर इन्दिरा चौधरी र समाचार प्रमुख बुधन चौधरीको संयोजनमा चलिरहेको रेडियो कोल्हवीले स्थानीय मुद्दा, जनजीविका र सशक्तीकरणका विषयलाई प्राथमिकता दिदै आईरहेको छ ।
यो वर्ष रेडियोले आफ्नो सातौँ वार्षिकोत्सव मनाउने तयारी गरेको थियो । तर, देशभर चलेको भद्र २३/२४ गतेको Gen-Z आन्दोलनका क्रममा युवाले ज्यान गुमाएको घटनाप्रति सम्मानस्वरूप उक्त कार्यक्रम स्थगित गरिएको छ ।
“हामीले उत्सवभन्दा पनि सहानुभूति र एकताको सन्देश दिन चाह्यौं,” रेडियो परिवारको फेसबूक स्टाटसमा उल्लेख छ ।
रेडियो कोल्हवीको यात्रा अब मात्र सात वर्षको नभई सातौं वर्षदेखि सुरु भएको एक प्रतिबद्ध यात्राको निरन्तरता हो । समाजका आवाजलाई हरेक बिहान र साँझ “हावाई तरङ्गित मार्फत बगाउने” सामुदायिक भरोसा भनेको छ । रेडियो कोल्हवीका लागि यो सातौँ वर्ष केवल वार्षिकोत्सव होइन, समुदायसँगको सम्बन्ध अझ गहिरो बनाउने प्रेरणाको क्षण पनि हो ।






















Discussion about this post