निजगढ, बारा । तेक्वान्दो यो खेल केवल खेल मात्र होइन, एउटा शारीरिक अभ्यास र जीवनशैली पनि हो । यही तेक्वान्दोमार्फत बारा जिल्लाको एउटा गाउँमा हुर्किएका गुरुप्रसाद गौतमले आफ्नो जीवनलाई मात्र होइन, हजारौँ युवाको भविष्यलाई समेत नयाँ बाटो देखाइरहेको र देखाईसकेका छन् । हालै चितवनमा भएको नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्य पदमा उनी पुनः निर्विरोध निर्वाचित भएका छन् । यो लगातार दोस्रो कार्यकाल हो, जसले उनको योगदानलाई फेरि एकपटक औपचारिक मान्यता दिएको छ ।
गाउँकै विद्यालयमा सुरु भएको डोजाङ
निजगढ नगरपालिका–५ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा गौतमले स्थापना गरेका छन् बागदेव तेक्वान्दो डोजाङ । यो डोजाङ केवल अभ्यास गर्ने थलो मात्र बनेन, यो स्थान असंख्य खेलाडीहरूको सपना साकार हुने घामपानी थलो पनि बन्यो । यही डोजाङबाट प्रशिक्षित धेरै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराइरहेका छन् ।
स्थानीयदेखि राष्ट्रियसम्म
गौतमले आफ्नो खेलकुद जीवनलाई खेलाडीको रूपमा मात्रै सीमित राखेनन् । उनी प्रशिक्षक बने, संघ–संस्था चलाउने जिम्मेवारी सम्हाले र खेललाई गाउँगाउँ पुर्याउने अभियानमा लागे । बारा जिल्लामा तेक्वान्दो परिचित नहुँदै गरेको समयमा उनले नेपाल तेक्वान्दो संघ बारा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै खेललाई विद्यालय–विद्यालयसम्म पुर्याए ।
समर्पणले दिलाएको विश्वास
तेक्वान्दो खेललाई जीवनको अभिन्न अंश मान्ने गौतम खेलाडी, प्रशिक्षक र प्रशासक, तीनै भूमिकामा सफल छन् । यही समर्पणका कारण नेपाल तेक्वान्दो संघको नेतृत्व तहमा पनि उनी निरन्तर आवश्यक ठहरिएका छन् । यही कारण, सर्वसम्मत सहमतिबाट फेरि पनि उनले केन्द्रीय सदस्यको पद पाए । यो निर्विरोध विजय केवल पदप्राप्ति मात्र होइन, उनको इमानदार योगदानप्रतिको सम्मान हो ।
स्थानीय गर्व
उनको पुनः निर्वाचित भएको खबरसँगै निजगढलगायत बारा जिल्लाका खेलप्रेमीहरू हर्षित छन् । धेरै अभिभावकहरू छन । निजगढ-६ निवासी ईश्वर सापकोटा भन्छन्, “हामीलाई खेलमै भविष्य देखाउने गुरुप्रसाद सरकै कारण हो।” खेलाडीहरूले पनि विश्वास व्यक्त गरेका छन्“ सापकोटा भन्क्छन गौतम सरको नेतृत्वमा तेक्वान्दो अझै व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्नेछ र बनेको पनिछ ।”
भविष्यको बाटो
तेक्वान्दो खेल केवल पदक जित्ने साधन होइन, यो शारीरिक र मानसिक अनुशासनको बाटो पनि हो । गुरुप्रसाद गौतमले यही सन्देश स्थानीय युवाहरूलाई दिएका छन् । अब, केन्द्रीय तहमा पनि निरन्तरता पाएपछि उनले आफ्नो अनुभव र दृष्टि अझ ठूला स्तरमा प्रयोग गर्ने अवसर पाउनेछन् ।
गुरुप्रसाद गौतमको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, बारा जिल्लाबाट सुरु भएर नेपालकै तेक्वान्दो आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने सामूहिक यात्राको कथा पनि हो ।





















Discussion about this post