बारा । पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलमा पछिल्लो तीन महिनायता आतंक मच्चाउँदै आएको बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । जीतपुरसिमराका तीन जनाको ज्यान गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन र जेडएसएल (ZSL) का विज्ञ टोली खटिएको थियो ।
विज्ञ टोलीले हात्तीको सहयोगमा बाघलाई पछ्याउँदै डार्ट प्रहार गरी बेहोस बनाएर नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिइएको बाघलाई तत्कालै निकुञ्ज कार्यालयस्थित खोरमा राखिएको स्रोतले जनाएको छ ।
गत असार र भदौ महिनामा बाघको आक्रमणबाट जीतपुरसिमरामा तीन जनाको मृत्यु भएको थियो । असारमा वडा–१ का ६० वर्षीय छेवाङ लामा, भदौमा वडा–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र वडा–२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो । लगातारको आक्रमणपछि त्रसित बनेका स्थानीयले बाघ नियन्त्रणको माग गर्दै आएका थिए ।
शुक्रबार विज्ञ टोलीसँगै जनप्रतिनिधि, प्रहरी र सुरक्षाकर्मी समेत हात्ती चढेर जंगल प्रवेश गरेका थिए ।
निकुञ्ज प्रशासनका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य परीक्षण गरिँदै छ । परीक्षणको प्रतिवेदनपछि उक्त बाघलाई कुन अवस्थामा राख्ने भन्ने निर्णय हुने जनाइएको छ ।






















Discussion about this post