निजगढ नगर प्रमुख पुरीद्वारा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको माग

391
SHARES
515
VIEWS

निजगढ । जेन-जि आन्दोलनको क्रममा निजगढ नगरपालिका क्षेत्रमा भएका तोडफोड र आगजनीका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न नगर प्रमुख सुरथ पुरीले माग गरेका छन् ।

नगर प्रमुख पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै भदौ २४ गतेको आन्दोलनको बहानामा घुसपैठिया तत्वहरूले नगरपालिका कार्यालय तथा वडा कार्यालयमा आक्रमण गरेको भन्दै घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग आग्रह गरेका हुन् ।

‘सार्वजनिक सम्पतिमा हमला गरी कार्यालयका अभिलेख, उपकरण र संरचना नष्ट गर्ने कार्य कुनै जिम्मेवार नागरिकबाट हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘स्वयं नागरिकका लागि आवश्यक कागजपत्र नष्ट गर्ने कामले जनतालाई मात्र सास्ती दिन्छ ।’

उनले निष्पक्ष र सूक्ष्म छानबिनमार्फत घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता जोड दिएका छन् ।

काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर जेन–जि प्रदर्शनकारीको मृत्यु भएपछि निजगढमा भएको आन्दोलन हिंसात्मक बनेको थियो । त्यस क्रममा नगरपालिका कार्यालयको मुख्य भवनमा आगजनी हुँदा सम्पूर्ण अभिलेख, उपकरण र फर्निचर जलेर नष्ट भएको थियो । वडा नम्बर १०, ११ र १३ बाहेकका अन्य वडा कार्यालयमा रहेका कागजपत्र र सामग्री समेत निकालेर आगो लगाइएको थियो ।

आगजनीका कारण नगरपालिका कार्यालय गम्भीर क्षतिग्रस्त भएको छ भने विभिन्न वडा कार्यालय र स्थानीय राजनीतिक दलका कार्यालयमा पनि आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित