बारा । जिल्ला प्रशासन कार्यालय बाराका हालै मात्र कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
जिल्लाका पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अधिकारी पौडेलले जिल्लाबासीको विश्वास जित्दै प्रशासनलाई जिम्मेवार र उत्तरदायी बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
उनका अनुसार हाल राष्ट्रिय परिचयपत्र (एनआईसी) निर्माणसम्बन्धी कार्यमा देखिएको अवरोध प्रमुख चुनौती बनेको छ । “माथिल्लो निकायको सर्भर डाउन हुँदा सेवाग्राहीलाई दैनिक समस्या भोग्नुपरेको छ, तर हामी यहाँको टिमसहित समाधानमुखी ढंगले अगाडि बढिरहेका छौँ,” पौडेलले भने ।
कर्मचारी अभावबीच पनि सेवा छिटोछरितो बनाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीका विषयमा उनले संस्था दर्ता गर्ने अधिकार स्थानीय तह र प्रदेश सरकारसँग रहेकाले प्रशासनले सहकार्यका आधारमा अघि बढ्ने स्पष्ट गरे ।
“क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै कार्य नगर्ने, बरु सच्याउनुपर्ने विषय सच्याएर मात्र अघि बढ्ने नीति लिन्छौं,” उनले अझ स्पष्ट पारे ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित प्रशासनका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो । सीडीओ पौडेलले पत्रकारहरूसँगको छलफलमा सुशासन र पारदर्शितालाई आफ्नो कार्यकालको मूल आधार बनाइने भन्दै सबैसँग सहकार्यका लागि आग्रह गरेको छ ।






















Discussion about this post