बसन्त लामा, सिंगौल । निजगढ नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा एक वर्षअघि निर्माण सुरु गरिएको नयाँ भवन अझै अधुरो अवस्थामा अलपत्र परेको छ । मधेश प्रदेशको २०८१/८२ को बजेटबाट विनियोजित २० लाख रुपैयाँमा सुरु गरिएको निर्माण कार्य समयमा सम्पन्न नहुँदा विद्यालयको पठनपाठन प्रभावित हुने अवस्थामा पुगेको हो ।
विद्यालयमा कम्प्युटर कोठा र पुस्तकालयको सुविधा अभाव भएकाले सो भवन निर्माण सुरु गरिएको थियो । गत वर्ष प्रदेश सभा सदस्य मिना लामाले शिलान्यास गरेकी उक्त भवन निर्माण कार्य एक वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
विद्यालयका एक शिक्षकका अनुसार भवन सम्पन्न गर्न अझै १५ देखि १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, मधेश प्रदेश सरकारको नियमअनुसार आगामी बजेट निकास गर्न २० प्रतिशत रकम विद्यालय वा निर्माण समितिले अग्रिम बुझाउनु पर्ने व्यवस्था रहेको छ । आर्थिक अभावका कारण रकम बुझाउन नसकिएकोले भवनको काम रोकिएको निर्माण समितिले जनाएको छ ।
स्थानीय शिक्षक तथा अभिभावकहरूले भने भवन अधुरो रहँदा विद्यालयमा अध्ययनरत विद्यार्थी, विशेष गरी कक्षा ८ मा अध्ययनरत र विद्यालयमा अध्ययनरत ८ सय जना विद्यार्थीको भविष्यमा असर परिरहेको गुनासो गरेका छन् ।
“बजेट अभावकै कारण भवन अधुरो छ, विद्यार्थीहरूलाई कम्प्युटर र पुस्तकालय प्रयोग गराउने वातावरणसमेत बन्न सकेको छैन,” विद्यालयका एक शिक्षकले बताए ।
भवन अलपत्र अवस्थामा रहँदा विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र सरोकारवाला निकायहरू भने मौन बसेको आरोप अभिभावकहरूले लगाएका छन् ।
यता सिंगौलकै अन्य ठाउँमा भने समयमै २० प्रतिशत रकम बुझाउने परियोजनाहरू तीव्र गतिमा अगाडि बढिरहेको पाइन्छ । तर नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा आर्थिक अभावकै कारण भवन निर्माण कार्य ठप्प बनेको छ ।
शिक्षा तथा शैक्षिक पूर्वाधारमा देखिएको यस्तो बेवास्ताले सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पार्नु अत्यन्तै दुःखद विषय बनेको छ । समयमै ध्यान नदिए उक्त भवन निर्माण अलपत्र रहने मात्र होइन, विद्यार्थीको शिक्षामा गम्भीर असर पर्ने सम्भावना देखिएको छ ।






















Discussion about this post