बारा । निजगढ नगरपालिका–८ स्थित औतारटोल–रैया टोलमा निर्माण हुन लागेको उत्पत्यश्वर महादेव मन्दिरको निम्ति आयोजित महायज्ञको अवसरमा मंगलबार भव्य कलश यात्रा निकालिएको छ । धार्मिक श्रद्धा, संस्कृति र समुदायको एकताका रूपमा गरिएको उक्त कलश यात्राले सम्पूर्ण गाउँलाई भक्तिमय बनाएको थियो ।
वर पिपल रूखको फेदमुनी रहेको उत्पत्यश्वर स्थललाई संरक्षित गर्दै स्थायी महादेव मन्दिर निर्माण गर्ने उद्देश्यले सप्ताहव्यापी महायज्ञ आयोजना गरिएको हो । सोही अवसरमा विधिपूर्वक वैदिक मन्त्र उच्चारण गर्दै बिहानै पूजाअर्चना गरिनुका साथै महिलाहरूको सहभागितामा कलश यात्रा निकालिएको थियो ।
कलश यात्रा मन्दिर क्षेत्रबाट सुरु भई टोलटोल परिक्रमा गर्दै पुनः यज्ञस्थलमै पुगी सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय युवा, महिला, वृद्धवृद्धा र बालबालिकासमेतको उत्साहजनक उपस्थिति रहेको थियो ।
महायज्ञ आयोजक समितिका संयोजकका हरि घिमिरेको अनुसार मन्दिरको निर्माणका लागि आवश्यक आर्थिक, भौतिक तथा जनश्रम संकलन गर्न यही साउन १ गतेदेखि ७ गतेसम्म धार्मिक कार्यक्रम सञ्चालनमा ल्याउन आज उद्घाटन गरेको हो । उनले मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले पनि अगाडि बढाउने लक्ष्य रहेको बताए ।
स्थानिय बासिन्दाहरु यसमा निकै आशावादी देखिएका छन् । “यो महायज्ञले हाम्रो टोलमा धार्मिक चेतना मात्र होइन, आपसी एकता र सामाजिक समर्पणको भावना पनि थप बलियो बनाउने छ ।” एक स्थानीयले भने
महायज्ञको लागि वरिष्ट पण्डित, विद्वान आचार्य र स्थानीय धार्मिक व्यक्तित्वहरूको टोलीले वेदपाठ, शिव पुराण वाचन तथा विविध पूजापाठ सञ्चालन गरिरहेको छ । उक्त महायज्ञमा सुदर्शन चालिसेद्वारा दैनिक कथा वाचन गर्नेछ । चालिसेको वाचनमा भजन–कीर्तन, देव लिला झाँकीलगायतका कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ । साथै बिष्णुप्रसाद आर्यालले श्रीमद्भागवत पाठ पारायण गरिने समेत आयोअजकले जनाएको छ । आयोजक समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन र दाताहरुलाई सहभागी भई पुण्य लाभ लिन आह्वान गरेको छ ।
मन्दिर निर्माणपछि उक्त स्थललाई धार्मिक तीर्थस्थलको रूपमा विकास गर्ने योजना रहेको बताइएको छ । आयोजक समितीका अध्यक्ष हरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।






















Discussion about this post