बारा । बाराको पथलैयाबाट प्रहरीले करिब दुई किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । यात्रुबाहक बसमा सवार व्यक्तिको साथबाट लागू औषध चरेससहित नेपाली तथा भारतीय मुद्रा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई असार ११ गते साँझ पथलैया चोक नजिकै चेकजाँचका क्रममा रोकी खोजतलास गरिएको थियो ।
प्रहरीले बसको सहचालक साइडको सिटमा रहेको एक यात्रुको साथमा कालो झोला फेला पारेको थियो ।
प्रहरीका अनुसार सो झोलाबाट १ किलो ९ सय ३३ ग्राम चरेस बरामद भएको छ । साथै, झोलाभित्र नेपाली रुपैयाँ ६० हजार ५ सय र भारतीय रुपैयाँ ३९ हजार २ सय १७ गरी कुल १ लाख २३ हजार २ सय ४७ रुपैयाँबराबरको नगद समेत फेला परेको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्थायी घर भई हाल जीतपुर सिमरा उपमहानगरपालिका–६ सिदरीया टोलमा बसोबास गर्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।






















Discussion about this post