ललितपुरका पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

385
SHARES
507
VIEWS

ललितपुर । डिजिटल मिडिया फाउण्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र कृत्रिम बुद्धिमत्ता (एआई)’ विषयक तालिम सम्पन्न भएको छ ।

ललितपुरको हिमालयन होटलमा आयोजना गरिएको उक्त एकदिने तालिममा जिल्लाभरिका २५ जना सक्रिय पत्रकारले सहभागिता जनाएका थिए। पत्रकारितामा प्रविधिको बढ्दो प्रयोग र आवश्यकतालाई दृष्टिगत गर्दै तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले प्रविधिसँग कदम मिलाएर अघि बढ्न पत्रकारहरू तयार हुनुपर्ने आवश्यकता औँल्याइन् । “समाचार लेख्ने मात्र होइन, आजको दिनमा डिजिटल टुल्सको ज्ञान पनि अनिवार्य भइसकेको छ,” उनले भनिन्, “नयाँ पुस्ताका मात्र होइन, अनुभव भएका पत्रकारहरूले समेत प्रविधिको सदुपयोग गर्नुपर्छ ।”

तालिममा प्रशिक्षकका रूपमा प्रवेश सुवेदी र उमेश श्रेष्ठले सहजीकरण गरेका थिए। सुवेदीले खोज पत्रकारिताको अवधारणा, विषय छनोट, अनुसन्धान विधि र तथ्य संकलनका आधुनिक उपायबारे प्रशिक्षण दिए । साथै, उनले पत्रकारिता कार्यमा सहयोगी बन्न सक्ने गुगलका विविध टुल्सको प्रयोगबारे पनि विस्तृत जानकारी गराए ।

त्यस्तै प्रशिक्षक उमेश श्रेष्ठले एआईको प्रयोग, डिजिटल सुरक्षा तथा तथ्य जाँच (फ्याक्ट चेक) सम्बन्धी सीपहरूमा सहभागी पत्रकारलाई अभ्यासमूलक प्रशिक्षण दिए । “प्रविधिलाई डर होइन, सहायकको रूपमा लिनुपर्छ,” उनले भने, “यसले समाचार सङ्कलन र सम्पादन प्रक्रिया अझ सहज बनाउँछ ।”

कार्यक्रममा इन्टरनेशनल अलर्टकी प्रतिनिधि प्रतिष्ठा थापाले पत्रकारितालाई प्रभावकारी बनाउने लक्ष्यले आफूहरूले तालिममा प्राविधिक सहयोग गरेको जानकारी दिइन् । “यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ,” उनले प्रतिबद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले तालिमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । “डिजिटल परिवर्तनसँगै सञ्चारकर्मीहरू पनि समयको मागअनुसार सक्षम बन्नुपर्छ,” उनले भने ।

उक्त तालिम युरोपियन युनियनको आर्थिक सहयोगमा र इन्टरनेशनल अलर्टको प्राविधिक साझेदारीमा सम्पन्न गरिएको हो । सहभागी पत्रकारहरूले तालिमबाट नयाँ ज्ञान र सीप सिक्न पाएको अनुभव साझा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित