निजगढ, बारा । महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले निजगढ नगरपालिकाले ४५ दिने बारिस्ता (कफी मेकर) तालिम सुरु गरेको छ । उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो तालिम बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले समय र बजारको माग अनुसार तालिम सञ्चालन गरिएको जानकारी दिइन् । “बारिस्ता तालिम समयअनुकूल र रोजगारी सिर्जना गर्ने खालको छ,” उनले भनिन्, “महिलाहरूमा दक्षता अभावका कारण व्यावसायिक व्यापारी भए पनि गृहिणीको दर्जामै सीमित हुनुपरेको अवस्था बदल्नुपर्छ ।”
तालिममा सहभागी महिलाहरूलाई कफी बनाउने सीपसँगै क्याफे सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान दिइनेछ । नगरपालिकाका अनुसार, तालिममा कफी तयार गर्ने तरिका, ग्राहक सेवा, सर्भिस व्यवस्थापन, र सानो व्यवसाय सञ्चालनको अभ्यास गराइनेछ ।
उक्त तालिमबाट सहभागी महिलाहरूले स्वरोजगार सिर्जना गर्न सक्ने, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गर्न सक्षम हुने विश्वास लिइएको छ ।
तालिममा सहभागिताका लागि नगरपालिकाले स्थानीय महिलाहरूलाई प्राथमिकता दिएको छ । तालिम सम्पन्न गरेपछि सहभागीलाई प्रमाणपत्र पनि प्रदान गरिनेछ ।
नगरपालिकाको नेतृत्वले आगामी दिनमा यस्ता सीपमूलक तालिमलाई अझ विस्तार गर्दै लैजाने तयारी गरेको जनाएको छ ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहार अर्याल, जनमत पार्टी निजगढका प्रतिनिधि मोजहर मन्सुर, निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना र कार्यपालिका सदस्य मानबहादुर डासेलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत अजय उप्रेतीले गरेका थिए भने संचाल ऋषव काफ्लेको रहेका थिए ।






















Discussion about this post