बारा । प्रथम निजगढ नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने गौरीशंकर माध्यमिक विद्यालय, निजगढ–८ का खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई विद्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आइतवार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विजेता टोलीलाई विद्यालयले पूर्वघोषित नगद राशिसहित सम्मानपत्र प्रदान गर्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बलर तथा ब्याट्सम्यानलाई बिकेट र छक्काका आधारमा नगद पुरस्कार दिइएको थियो ।
गौरीशंकर माविका बलरहरूले प्रतियोगिताका ३ खेलमा विपक्षी टोलीका कुल २६ विकेट लिँदा, ब्याट्सम्यानहरूले १० छक्का प्रहार गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका बलर शिवम पाण्डेले ह्याट्रिकसहित ९ विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट बलर घोषित हुँदै १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
अन्य बलर रञ्जेस यादव, अनिल बैठा, सत्यम पाण्डे, रुस्तम आलम र सविन दङ्गालले समेत विकेट लिएका थिए । त्यस्तै, छक्का प्रहार गर्ने ब्याट्सम्यानहरूमा रोशन देवकोटा, रिजवान अन्सारी, ऋतिक यादव, दिलीप पटेल, सत्यम पाण्डे र रञ्जेस यादव रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा, व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौला तथा शिक्षक, अभिभावकहरूको उपस्थितिमा खेलाडीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो ।
विद्यालयले निजगढ नगरपालिकाबाट प्राप्त पहिलो पुरस्कारबापतको ३० हजार रुपैयाँमध्ये १६ हजार खेलाडीहरूलाई प्रदान गरिएको र बाँकी रकम क्रिकेट सामग्री खरिदमा खर्च गरिने विद्यालयका शिक्षक तथा टिम व्यवस्थापक बुद्धि रानामगरले जानकारी दिए ।
उक्त प्रतियोगिता निजगढ नगरपालिका खेलकुद विकास समितिको आयोजनामा र निजगढ क्रिकेट क्लबको व्यवस्थापनमा सम्पन्न भएको थियो । शनिबार सम्पन्न फाइनल खेलमा गौरीशंकर मावि, निजगढ–८ ले निजगढ–६ सडकटोलस्थित गौरीशंकर माविलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो






















Discussion about this post