बारा, निजगढ । महिला सशक्तिकरण, वन संरक्षण, सामाजिक न्याय र जातीय पहिचानका सवालमा नडराई उभिने केही मुट्ठीभर महिलाहरूको नाममा आज एक नाम थपिएको छ । नेत्र कुमारी थापा ‘पारु मगर’। नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको मधेस प्रदेश सह-सचिवमा हालै चयन भएपछि पारु मगर पुनः एकपटक समाजसेवाको अग्रपंक्तिमा उभिएकि छिन ।
तर यो स्थान सहजै आएको होइन । निजगढ नगरपालिका–६/७ मा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले वन संरक्षणको अभियानमा उल्लेखनीय योगदान गरिसकेकी छिन । उनको पहलमा महिलाको वनमा पहुँच, सहभागिता र नेतृत्व सुनिश्चित गर्न धेरै कदम चालिएकी थिइन ।
त्यसैगरी, मेची–माहाकाली बुहारी संयुक्त आवाज बारा जिल्ला सदस्यको भूमिकामा उनले गाउँघरका महिलाको आवाज जिल्ला तहसम्म पुर्याउन अहोरात्र खटिएकी थिइन । परम्परागत सोच, घरायसी चाप, राजनीतिक अवरोध जस्ता बाधाहरूलाई पार गर्दै पारु मगर राजनीतिमा अघि बढिरहेकी एक सहसीक महिला नेतृ हुन । नेपाली कांग्रेसकी सक्रिय महिला नेतृका रूपमा चिनिने पारु मगरको भनाइमा, “नेतृत्व महिलाको अधिकार हो भन्ने सोचले नै मलाई हौस्यायो । म सधैं भन्ने गर्छु — जहाँ आवाज सुनिन्न, त्यहाँ हामी पुग्नुपर्छ ।”
नेपाल राष्ट्रिय मगर संघको प्रदेश सह-सचिवमा उनी चयन हुनु केवल राजनीतिक नियुक्ति होइन, यो मगर समुदायभित्रको सशक्त नेतृत्वको उदय हो । आफ्नो पहिचान, भाषा, संस्कृति र अधिकारका लागि पारु मगरले लिएको जिम्मेवारी अब प्रदेशस्तरमै पुगेको छ ।
स्थानीय समुदायका लागि उनी केवल नेतृ होइन, प्रेरणाको स्रोत पनि हुन । पारु मगरजस्तै महिलाहरूको सहभागिता बढ्दै गएमा सामाजिक रूपान्तरण मात्र होइन, समावेशी लोकतन्त्रको सपना पनि साकार हुने आशा गर्न सकिन्छ ।




















Discussion about this post