बारा । पर्सा राष्ट्रिय निकुञ्जमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा भोलि लाग्ने वार्षिक मेलाको लागि भक्तजनहरूको हिजोदेखि नै चहलपहल बढ्न थालेको छ । बैशाख कृष्णपक्ष त्रयोदशीको अवसरमा लाग्ने यो मेला भर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरूको २ दिनअघिबाट नै घुइँचो लागेको हो । मानव बस्तीबाट १७ किलोमिटर टाढा निकुञ्जको जंगलभित्र रहेको रामभौरी भाथास्थित दुधेश्वर महादेव मन्दिरमा विगत तीन दिनदेखि नै पसलहरू खुल्न थालेका छन् भने भक्तजनहरू पनि जङ्गल प्रवेश गरिरहेका छन । मेलाका लागि आवश्यक सामग्रीसहित व्यापारीहरू ट्याक्टर, जीप, कार र मोटरसाइकलमा आउने क्रम जारी छ । दुधेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले यस वर्ष विगतका वर्षहरूको तुलनामा भक्तजनहरूको उपस्थिति उल्लेख्य रहने बताएका छन । यस वर्ष भक्तजनहरूले ३० भन्दा बढी अष्टजाम आयोजना गर्ने तयारीमा छ । जङ्गल प्रवेशका लागि निकुञ्ज प्रशासनले साँझ ६ बजेसम्मको समय निर्धारण गरेको भए पनि भक्तजनहरूको चापलाई मध्यनजर गर्दै समितिले दुईवटा एक्साभेटर परिचालन गरी राति ७ बजेसम्म पनि यात्रीहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था गरेको छ । पर्सा, बारा, मकवानपुर, रौतहट र चितवनलगायत भारतको बिहार तथा उत्तर प्रदेशबाट हजारौं दर्शनार्थीहरू भगवान शिवको दर्शन गर्न यस मन्दिरमा आउने गर्छन् ।






















Discussion about this post