बारा । निजगढको गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज मंगलबार भएको निर्वाचनमा ९० प्रतिशत मतदान खसेको छ । कुल ३ सय ६८ जना मतदाता मध्ये ३३४ जनाले मतदान गरेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गोविन्द अधिकारीले जानकारी दिए । विद्यार्थीहरुको यो सहभागिता उत्साहाजनक रहेको अधिकृत अधिकारीको भनाई छ । यसअघि निर्वाचनमा ६०/७० प्रतिशतसम्म मात्रै मतदान हुने अनुमान गरिएको थियो । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनावमा खडा भएका विद्यार्थी संगठनहरुले निजगढ नगरबाहिर रहेका मतदाताहरुलाई पनि झिकाएका थिए । विभिन्न पेसा व्यवसायको क्रममा क्याम्पसमा मतदाता रहेका १ सयभन्दा बढी विद्यार्थीहरु हाल नगरबाहिर रहेको बताइएको छ । बिहान ९ बजेबाट शुरु भएको मतदान दिउसो ४ बजेसम्म चलेको थियो । निर्वाचन समितिले बिहान ८ बजेबाट शुरु गर्ने सूचना दिएको भएपनि १ घण्टा ढिला गरी मतदान प्रारम्भ भएको थियो । निर्वाचन समितिले यसअघि साँझ ७:३० मा सूचना निकालेर राति ८.३० बजेबाट मतगणा कार्य शुरु गरिने भने पनि मत गणना सुरु हुन सकेको छैन । निर्वाचनबाट क्याम्पसमा प्रत्यक्ष र समानुपातिकतर्फबाट एकजना सभापती, उपसभापती, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य चुनिने छन । निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बालकृष्ण हुमागाई, नेपाली कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जन र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले उज्जल प्रसाई नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका छन ।






















Discussion about this post