बारा । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थागित हुन पुगेको छ । निर्वाचन समितिका संयोजक डा. मुरारी अधिकारीले राजिनामा दिएको कारण देखाउँदै क्याम्पस प्रशासनले स्ववियु चुनाव निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत् जानकारी दिए । आन्तरिक कलहका कारण नेपाल बिद्यार्थी संघ धादिङको नामबाट अलग अलग जिल्ला समिति मार्फत गतिविधि सञ्चालन हुंदै आईरहेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय दुजाङ शेर्पाले उम्मेदवारी मनोनयन पत्र दर्ताका क्रममा नेपाल विद्यार्थी संघबाट भवानी भट्टराईको समूह नै नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार रहेको जानकारी पत्र जिल्लामा पठाएपछि नेविसंघ भित्रको द्वन्द्व निर्वाचन समितिसम्म पुगेको हो । स्थापना कालदेखि नीलकण्ठ क्याम्पसको स्ववियुमा नेविसंघको एकछत्र पकड रहँदै आएको छ । यस पटकको निर्वाचनमा एमाले निकटको अनेरास्ववियु र माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी मिलेर चुनावमा गएका छन् । धादिङ जिल्लामा १२ वटा सामुदायिक क्याम्पस भएपनि नीलकण्ठ सहित ४ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृया अघि बढेको छ । धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेका क्याम्पस हो । जसमा ९ सय १३ जना विद्यार्थी भर्ना भएका तथ्याङ्क छ ।






















Discussion about this post