बारा । सरकारले कृषि कार्यमा प्रयोग हुने रासायनिक मलको पर्याप्तता रहेको भन्दै प्रचार गरिरहे पनि बाराका किसानहरूले सिजनमा सधैं मल अभावको सामना गर्नु परेको छ । अहिलेको यो सिजनमा धान गोडेर युरिया मल हाल्ने समय भए पनि किसानहरू मलका लागि छटपटाइरहेका छन् । बाराको करैयामाई गाउँपालिका-५ का किसान रामलाल चौधरीका अनुसार, धानमा मल छर्ने बेला भइसक्दा पनि बजारमा युरिया मल उपलब्ध छैन । जिल्लाका किसानहरू पनि युरिया मल नपाएर समस्यामा छन् । रासायनिक मल बिक्री गर्ने डिलरहरू र सहकारीहरूसँग युरिया मल उपलब्ध छैन, भने केही सहकारीहरूमा मात्र डिएपी पाइने गरेको किसानहरूले बताएका छन् । त्यस्तै
जीतपुरसिमरा उपमहानगरपालिका-१८ मा रहेको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काका अनुसार, डिलरहरूले सधैं किसानलाई चाहिने समयमा मल उपलब्ध गराउन नसक्ने स्थिति रहेको बताईन । “धान रोपाइँको बेलामा डिएपी जरुरी थियो, त्यति बेला किसानलाई डिएपी छैन, युरिया लैजानुस् भन्थे । अहिले युरिया चाहिएको बेला युरिया छैन, डिएपी
लैजानुस् भन्छन्,” उनले बताइन् । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहका अनुसार, बारा जिल्लालाई वार्षिक ६१ हजार मेट्रिक टनभन्दा बढी डिएपी, युरिया, र पोटास मलको आवश्यकता छ । तर, आयातको मात्रामा कमी रहेको र वार्षिक रूपमा करिब २८ प्रतिशत मात्रै आयात हुने गरेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० मा मागको २०.६ प्रतिशत मात्रै अर्थात् १२ हजार ६२७.९५ मेट्रिक टन मल बारामा भित्रिएको थियो, भने गत वर्ष केही वृद्धि भएर २८ प्रतिशत अर्थात् १६ हजार २३७ मेट्रिक टन मल बाराका किसानहरूले पाएका थिए । बारा जिल्लामा हिउँदे र वर्षे गरी ६२ हजार २० हेक्टर जमिनमा धान खेती हुने गरेको छ, जसका लागि १५ हजार६६ मेट्रिक टन युरिया, ५ हजार ३९१ मेट्रिक टन डिएपी, र ४ हजार ९२ मेट्रिक टन पोटास मलको आवश्यकता पर्ने गर्छ । साहले भने, “देशमा मलको आयात नै आवश्यकता भन्दा कम छ । आएको मल पनि नेपाल सरकारका आधिकारिक विक्रेताहरूबाट सिजन अनुसार आवश्यकता व्यवस्थापन हुन नसकेकाले किसानलाई सधैं समस्या परेको छ ।”
किसानहरूले समयमा मल नपाउँदा भारतबाट चोरी निकासी भएर आउने कमसल मल बढी मूल्यमा किनेर धानमा हाल्नुपर्ने बाध्यता किसानहरुको छ ।





















Discussion about this post